close

ग्लोबल हब बन्ने लक्ष्यका साथ भारतले सार्वजनिक गर्‍यो सिक्सजीको नयाँ रोडम्याप, नेपाल फोरजीमै

टेकपाना टेकपाना

माघ २१, २०८२ २२:५८

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । भारत सरकारले सिक्सजी प्रविधिको विश्वव्यापी केन्द्र बन्ने उद्देश्यका साथ एक विस्तृत स्पेक्ट्रम रोडम्याप सार्वजनिक गरेको छ । भारतको दूरसञ्चार विभागले सन् २०२५ को अन्त्यमा यो योजना ल्याउँदै सन् २०३० को दशकमा भित्रिने सिक्सजी युगका लागि आधार तयार गरेको हो ।

यस मार्गचित्रले भारतको विगत दुई दशकको सफलतालाई निरन्तरता दिँदै आगामी प्रविधिमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ । भारतले सिक्सजी सेवाका लागि आवश्यक पर्ने रेडियो स्पेक्ट्रमको पहुँचलाई व्यवस्थित बनाउन विभिन्न चरणहरू निर्धारण गरेको छ ।

जसअनुसार सन् २०२५ को सुरुमै भारतले ६ गिगाहर्ज स्पेक्ट्रम खुला गरिसकेको छ । अबको ध्यान सन् २०२७ मा हुने विश्व रेडियो सञ्चार सम्मेलन (WRC-27) मा केन्द्रित छ । यस अन्तर्गत ४.५ गिगाहर्ज र ७ गिगाहर्ज जस्ता मिड-ब्यान्ड स्पेक्ट्रम उपलब्ध गराइनेछ ।

भारतले १५०० मेगाहर्ज ब्यान्डमा ६७ मेगाहर्ज स्पेक्ट्रम उपलब्ध गराउने विषयमा पनि विचार गरिरहेको छ । यसरी भारतले आफूलाई अमेरिका जस्ता विकसित मुलुकहरूसँग प्रतिस्पर्धामा उभ्याएको छ ।

सन् २०२५ डिसेम्बरमा अमेरिकाले पनि 'सिक्सजी रेस जित्ने' योजना सार्वजनिक गर्दै ७ गिगाहर्ज ब्यान्डलाई व्यावसायिक प्रयोगका लागि पहिचान गरेको थियो । भारतले पनि सोही ब्यान्डलाई प्राथमिकतामा राख्नुले यसलाई विश्वव्यापी रूपमै मोबाइल सञ्चारको अर्को महत्त्वपूर्ण खम्बाको रूपमा स्थापित गरेको छ ।

सन् २०३० देखि २०४० को अवधिमा नयाँ र उदीयमान प्रविधिहरूको प्रयोग बढ्ने प्रक्षेपण गरिएको छ । सिक्सजी प्रविधिले भिडिओ-ड्रिभन जेनेरेटिभ एआई र होलोग्राम मार्फत गरिने कुराकानीलाई सम्भव बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै उच्च गतिको इन्टरनेटका कारण एक्सआर प्रविधिको प्रयोगमा सहजता हुनेछ । भारत विश्वकै शीर्ष २५ डेटा बजारमध्ये एक हो । सन् २०४० सम्ममा भारतमा प्रति कनेक्सन मासिक ११५ देखि २९० जीबीसम्म डेटा खपत हुने अनुमान छ ।

त्यस्तै सन् २०४० सम्ममा भारतमा सिक्सजी प्रयोगकर्ताको सङ्ख्या करिब ७६ करोड (३४% जनसङ्ख्या) पुग्ने अनुमान गरिएको छ । भारतको सिक्सजी रोडम्यापलाई सफल बनाउन सरकारले केही महत्त्वपूर्ण नीतिहरू अघि सारेको छ । जसमा स्पेक्ट्रमलाई प्रविधि-तटस्थ (Technology-neutral) बनाउने, स्पेक्ट्रम साझेदारी (Sharing) र लिजिङ गर्न अनुमति दिने जस्ता लचिला नीतिहरू समावेश छन् ।

भारतले 'भारत सिक्सजी भिजन' मार्फत अन्तर्राष्ट्रिय साझेदारी र मानक निर्माणमा पनि सक्रिय सहभागिता जनाइरहेको छ । छिमेकी देश करिब एक तिहाइ जनसङ्ख्यामा फाइभजीको पहुँच विस्तार गरेर सिक्सजीतर्फ अघि बढिरहँँदा यता नेपाल भने फोरजीबाट फाइभजीमा समेत जान सकिरहेको छैन ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ २३:४४