वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र राखिएको भन्दै निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
माघ २२, २०८२ १०:१९
काठमाडौँ । आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन 'अनन्त'ले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । उक्त कार्यमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन् ।
साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले यस विषयमा बुझेर बताउने उल्लेख गरे । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार छन् । निवेदनमा अत्यन्तै भ्रामक, झुटा र चरित्र हत्या गर्ने किसिमका सामग्री सम्प्रेषण भइरहेकाले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको उल्लेख छ ।
"यसले निर्वाचनको स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने कार्य गरेको हुनाले उक्त भ्रामक सामग्री तत्काल हटाउन लगाउनुका साथै यस्ता कार्यमा संलग्न व्यक्तिहरू तथा समूहको पहिचान गरी प्रचलित कानुन बमोजिम कडा कारबाही गरी पाउन यो निवेदन पेस गर्दछु," उजुरीमा भनिएको छ ।
प्रतिस्पर्धीमध्येका उम्मेदवारले आफ्नो विषयमा मतदातमा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्देश्यले प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमा राखेको भेटिएकाले त्यसमा संलग्न व्यक्तिहरूमाथि कारबाहीका लागि निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी दिएको पुनको भनाइ छ । पुनले पार्टीका तर्फबाट मतदातामा लैजाने चुनावी घोषणापत्र लेखनको अन्तिम चरणमा रहेको र आफ्ना तर्फबाट मौखिकबाहेक लिखित रूपमा छुट्टै घोषणा वा प्रतिबद्धतापत्र नबनाएको उल्लेख गरे ।
पुनको भन्दै सार्वजनिक गरिएको नक्कली प्रतिबद्धतपत्रमा रोल्पा सदरमुकाम र सुलिचौरमा रेड लाइट एरिया तोक्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय र प्रत्येक वडामा क्याम्पस निर्माण गर्ने तथा माडीचौर फुटबल मैदानमा वीर अस्पतालभन्दा ठुलो अस्पताल बनाउने, मेट्रो रेल र केबुलकार जस्ता विषय उल्लेख गरिएका छन् ।
पछिल्लो अध्यावधिक: माघ २२, २०८२ १०:१९
