close

युट्युब भिडिओ ब्याकग्राउन्डमा प्ले भएन ? ब्रेभ ब्राउजरमा मिलाउनुहोस् यो सेटिङ

टेकपाना टेकपाना

माघ २४, २०८२ १६:४२

युट्युब भिडिओ ब्याकग्राउन्डमा प्ले भएन ? ब्रेभ ब्राउजरमा मिलाउनुहोस् यो सेटिङ

काठमाडौँ । गुगलको स्वामित्वमा रहेको भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले प्रिमियम सदस्य नभएका प्रयोगकर्ताका लागि ‘ब्याकग्राउन्ड प्लेब्याक’ फिचरमा कडाइ गरेपछि प्रविधि जगतमा नयाँ तरंग पैदा भएको छ । युट्युबको यो कदमलाई चुनौती दिँदै गोपनीयतामा आधारित ब्रेभ ब्राउजरले गुगलको प्रतिबन्धलाई बाइपास गर्ने नयाँ अपडेट ल्याएको छ ।

युट्युबले हालै आफ्नो नीतिमा परिवर्तन गर्दै मोबाइल ब्राउजरमा ‘ब्याकग्राउन्ड प्ले’ फिचर ब्लक गरिदिएको छ । यो फिचरमार्फत प्रयोगकर्ताले ब्राउजर एप बन्द गर्दा वा मोबाइलको स्क्रिन अफ गर्दा पनि भिडिओको आवाज सुनिरहन सक्थे । गुगलले यो सुविधा केवल ‘युट्युब प्रिमियम’ सदस्यका लागि मात्र विशेष बनाउन चाहेको स्पष्ट पारेको छ ।

गुगलका एक प्रवक्ताले एन्ड्रोइड अथोरिटीलाई भनेका छन्, “ब्याकग्राउन्ड प्लेब्याक प्रिमियम सदस्यका लागि मात्र लक्षित फिचर हो । यसअघि केही गैरप्रिमियम प्रयोगकर्ताले मोबाइल ब्राउजरमार्फत यसमा एक्सेस पाएका भए पनि, हामीले सबै प्लेटफर्ममा एकरूपता ल्याउन यो अनुभवलाई अपडेट (ब्लक) गरेका छौँ ।”​

युट्युबको यो निर्णय लगत्तै ब्रेभ ब्राउजरले सामाजिक सञ्जाल ‘एक्स’ र फेसबुकमार्फत आफ्ना प्रयोगकर्ताका नयाँ तरिका सार्वजनिक गरेको थियो । अहिले भने ब्रेभ ब्राउजर अपडेट गर्नुभयो भने ब्याकग्राउन्ड प्ले फिचर प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईंकोमा ब्याकग्राउन्ड प्ले चलेको छैन भने तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ:

  • ब्राउजरको ‘Settings’ मा जानुहोस् ।

  • त्यसपछि ‘Shields & Privacy’ भित्र रहेको ‘Content Filtering’ मा गएर ‘Update’ वा ‘Update Lists’ बटन थिच्नुहोस् । 

  • त्यसपछि पुनः ‘Settings’ मा गएर ‘Media’ मा जानुहोस् र ‘Enable Background Audio’ वा ‘Background Play’ अप्सनलाई अन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ २४, २०८२ १६:४२