close

देउवाको घरमा भेटिएको पैसा ‘एआई’ भएको ओलीको पनि दाबी, तथ्यजाँचले के भन्छ ?

टेकपाना टेकपाना

माघ २४, २०८२ ०:१५

देउवाको घरमा भेटिएको पैसा ‘एआई’ भएको ओलीको पनि दाबी, तथ्यजाँचले के भन्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भनिएको भिडिओ‍ एआई (आर्टिफिसियल इन्टेलिजेन्स) ‍प्रयोग गरेर बनाइएको दाबी गरेका छन् । शनिबार झापाको कमल गाउँपालिका–१ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा स्थानीयले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो जिकिर गरेका हुन् ।

कमल गाउँपालिकाका एक स्थानीय मतदाता‍ले ओलीलाई प्रश्न गर्दै भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नेताका घरबाट डलर र पैसाका बिटा जलेको र भेटिएको घटनामा किन मौन बसेको भनी प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, “सुन्नुस् न, सत्य कुरा बुझ्नुपर्छ । धेरै कुरा चाहिँ कस्तो छ भने शेरबहादुर (देउवा) को घरबाट पैसा निस्किएको देखाए नि, त्यो अर्कै देशमा कतैको केही बनाएर, त्यो एआई भन्या जस्तो हुन्छ । त्यसले फोटोहरू बनाउँछ, त्यसले हाल्छ । अनि ‘यस्तो भेटियो, देखियो’ भनिन्छ । हजारको नोट डढेको चाहिँ कतैको फोटो थियो भनिन्छ, नत्र भने त्यो जुन फोटो देखाइयो, त्यो चाहिँ नक्कली फोटो हो । यस्ता नक्कली फोटोहरू धेरै देखाउँछन् प्रचार गर्नेहरूले । यस्तोको पछाडि धेरै लाग्नु हुँदैन ।”

सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य नहुने तर्क गर्दै ओलीले भनेका छन्, “मैले सबैको इमान्दारिताको ठेक्का लिन सक्दिनँ । कसले कोठाभित्र के गर्छ, कहाँ के लुकाउँछ, त्यो मलाई थाहा हुँदैन । तर अहिलेको जमानामा देखिने सबै कुरा सत्य हुँदैनन् ।” उनले आफू भ्रष्टाचार नगर्ने र गर्नेलाई पनि नछाड्ने प्रतिबद्धता दोहोर्‍याए ।

यसअघि तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले समेत आफ्नो घरमा पैसा भेटिएको आरोपलाई अस्वीकार गरेका थिए । गत २८ असोजमा सानेपामा आयोजित केन्द्रीय समिति बैठकमा देउवाले भनेका थिए, “यो फेक भिडिओ हो । बाहिरबाट ल्याइएको भिडिओ हो । मेरो घरमा २० लाख रे ५० लाख रे ! यो फेक भिडिओ हो । यो धेरै पहिलाको भिडिओ, फेक भिडिओ बनाएर मेरो खिलाफमा षड्यन्त्र गर्ने कुरा अहिले सामाजिक सञ्जाल र विदेशी सबै आइसक्या छ ।”‍

ओली र ‍देउवा दुवैले जलेको पैसाको भिडिओ ‍एआई प्रयोग गरेर बनाइएको दाबी गरे पनि टेकपाना फ्याक्टचेकले ‍देउवा निवास र निवर्तमान ऊर्जामन्त्री दीपक खड्काको घरमा पैसा भेटिएका भनिएका अधिकांश भिडियोहरू वास्तविक रहेको निष्कर्ष निकालेको छ । पढ्नुहोस् फ्याक्टचेक

टेकपानाले ‘हाइभ मोडेरेसन’ जस्ता एआई डिटेक्टर टुलहरू प्रयोग गरी गरेको परीक्षणमा उक्त भिडिओहरू तयार गर्न कुनै पनि एआईको प्रयोग नभएको पाइएको छ । ‍साथै, भाइरल भिडिओमा देखिएका घरका किफ्रेम र स्थानहरूलाई राष्ट्रिय सञ्चारमाध्यम (सिधाकुरा, अनलाइनखबर)ले खिचेको देउवा निवासको आधिकारिक दृश्यसँग तुलना गर्दा स्थान एउटै भएको पुष्टि भएको छ ।

यद्यपि, तथ्यजाँचका क्रममा हिलोमा डलर भेटिएको भनिएको एउटा भिडिओ भने नेपालको नभई भारतको पञ्जाब क्षेत्रको पुरानो भिडिओ भएको र भ्रामक रूपमा फैलाइएको पुष्टि भएको छ । त्यस्तै, आकाशबाट पैसा उडाएको भनिएको भिडिओ देउवा निवासको नभई तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरको भएको तर भिडिओ वास्तविक नै रहेको तथ्यजाँचले देखाएको छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०८२ ०:२६