काठमाडौँ । होम एप्लायन्स ब्रान्ड हायर (Haier) को ब्रान्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबिच हालै यसबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बजार अनुसन्धान संस्था 'युरोमोनिटर इन्टरनेसनल' को तथ्याङ्कअनुसार बिक्री परिमाणका आधारमा हायर विगत १७ वर्षदेखि निरन्तर विश्वकै नम्बर १ ब्रान्डको रूपमा रहँदै आएको छ । रेफ्रिजेरेटरतर्फ १८ वर्ष, वासिङ मसिनतर्फ १७ वर्ष र वाइन कुलरतर्फ १६ वर्षदेखि हायरले आफ्नो शीर्ष स्थान कायम राखेको कम्पनीले जनाएको छ । त्यस्तै, फ्रिजर बिक्रीमा पनि यो ब्रान्ड विगत १५ वर्षदेखि विश्वकै अग्रणी स्थानमा छ ।
अन्तर्राष्ट्रिय खेलकुदमा ठुलो लगानी गर्दै आएको हायरले हाल लिभरपुल एफसी, पेरिस सेन्ट जर्मन (पीएसजी) र एटीपी टुरजस्ता विश्वस्तरीय संस्थाहरूसँग दीर्घकालीन साझेदारी गरेको छ । सोही अनुरूप आगामी दिनमा नेपाली खेलकुद क्षेत्रमा पनि आफ्नो उपस्थितिलाई थप सशक्त बनाउने कम्पनीको योजना छ ।
सम्झौता पछि बोल्दै खड्काले विश्वकै अग्रणी ब्रान्डसँग जोडिन पाउनु आफ्नो लागि महत्त्वपूर्ण अवसर भएको बताए । यस्तै, नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छाले नेपाली क्रिकेटका लिजेन्डरी खेलाडी खड्कासँग सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताउँदै यसले कम्पनीलाई सफलताको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
पछिल्लो अध्यावधिक: माघ २५, २०८२ २१:५८
