close

अमेरिकी र नेपाली विज्ञबाट मेन्टरसिप पाउने गरी एआई स्टार्टअपका लागि आवेदन खुला

टेकपाना टेकपाना

माघ २६, २०८२ २२:१९

अमेरिकी र नेपाली विज्ञबाट मेन्टरसिप पाउने गरी एआई स्टार्टअपका लागि आवेदन खुला

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनी तथा नवीन सोच (आइडिया) भएका समूहलाई लक्षित गर्दै ‘फ्युचरफ्रन्टः पावरिङ डिजिटल इनोभेसन थ्रु कन्टेन्ट एन्ड एआई’ कार्यक्रम आयोजना हुने भएको छ । अमेरिकी दूतावासको आर्थिक सहयोगमा ‘युथ इनोभेसन ल्याब कन्सल्ट प्रालि’ ले सञ्चालन गर्न लागेको यस कार्यक्रमले एआई स्टार्टअपहरूलाई व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ ।

आयोजकका अनुसार यस कार्यक्रमका लागि आज अर्थात् २६ माघदेखि आवेदन खुला भइसकेको छ । इच्छुक व्यक्ति वा कम्पनीले आउँदो ११ फागुनसम्म आवेदन दिन सक्नेछन् । विशेषगरी एआईको प्रयोगमार्फत सामाजिक समस्याको समाधान र डिजिटल सोलुसनमा काम गर्न इच्छुक स्टार्टअप तथा समूहहरू यसमा सहभागी हुन सक्नेछन् ।

यस कार्यक्रमअन्तर्गत देशभरिबाट उत्कृष्ट २० वटा स्टार्टअप कम्पनी तथा समूह छनोट गरिनेछ । छनोट भएका सहभागीहरूले काठमाडौँमा आयोजना हुने चार दिने आवासीय कार्यशाला (रेसिडेन्सियल वर्कशप) मा सहभागी हुने अवसर पाउनेछन् । कार्यशालामा उनीहरूलाई एआई क्षेत्रमा कार्यरत अमेरिकी कम्पनीका प्रतिनिधि र नेपाली विज्ञहरूले विशेष तालिमका साथै मेन्टरसिप (मार्गदर्शन) प्रदान गर्नेछन् । यसबाट नयाँ स्टार्टअप र समूहलाई आफ्नो आइडियालाई व्यावसायिक रूपमा विस्तार गर्न र एआईको जिम्मेवारपूर्ण प्रयोगबारे सिक्न मद्दत पुग्नेछ ।

यस अवसरले सहभागीहरूलाई आफ्ना योजनाहरू प्राविधिक रूपमा थप प्रभावकारी बनाउन र बजारसम्म पुर्‍याउन सहयोग गर्नेछ । कार्यक्रमको अन्तिम दिन आयोजना हुने ‘डेमो डे’ मा सहभागीहरूले आफ्ना योजना लगानीकर्ता र सरोकारवालाहरूमाझ प्रस्तुत गर्ने मौका पाउने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले यसमा आवेदन दिन सक्नेछन् । प्रडक्ट पूर्ण रूपमा तयार नभएर केवल अवधारणा (आइडिया) मात्र भएको अवस्थामा पनि सहभागी हुन सकिनेछ । इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि यहाँ क्लिक गरी फारम भर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: माघ २७, २०८२ १४:४६