अन्तरिक्षमा एआई: पृथ्वीबाट कमाण्ड नलिई मंगल ग्रहमा ४५६ मिटर गुड्यो नासाको रोभर
माघ २९, २०८२ १३:३२
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा अन्वेषण गरिरहेको पर्सेभेरेन्स रोभरलाई एआईको माध्यमबाट चलाउन सफल भएको छ । गत डिसेम्बरमा गरिएको एक विशेष प्रदर्शनका क्रममा एआईले तय गरेको बाटो पछ्याउँदै रोभरले दुई छुट्टाछुट्टै यात्रामा कुल ४५६ मिटरको दूरी सफलतापूर्वक पार गरेको छ ।
नासाका प्रशासक जेरेड आइज्याकम्यानले यस उपलब्धिलाई अन्तरिक्ष अन्वेषणको क्षमतामा भएको ठूलो विस्तारका रूपमा व्याख्या गरेका छन् । “यस प्रदर्शनले हाम्रो क्षमता कति अगाडि बढेको छ भन्ने देखाउँछ र अन्य ग्रहहरूको अन्वेषण गर्ने हाम्रो तरिकालाई अझ फराकिलो बनाउँछ,” उनले भने ।
पृथ्वी र मंगल ग्रहबिचको विशाल दूरीका कारण रेडियो सिग्नल आउन र जान करिब २५ मिनेटको समय लाग्छ । यस ‘कम्युनिकेसन डिले’ ले गर्दा पृथ्वीबाट बसेर रोभरलाई वास्तविक समयमा चलाउन असम्भव हुन्छ ।
सामान्यतया नासाका इन्जिनियरहरूले रोभरले पठाएका तस्बिर र तथ्याङ्कहरूको अध्ययन गरी १०० मिटरभन्दा कम दूरीका साना खण्डहरूमा बाटो तय गर्ने गर्छन् । तर, एआईको प्रयोगले यो प्रक्रियालाई छिटो र रोभर आफैँले निर्णय लिन सक्ने बनाएको छ ।
यो एआई प्रणालीले ‘मार्स रिकोनेसेन्स अर्बिटर’ को ‘HiRISE’ क्यामेराबाट लिइएका उच्च गुणस्तरका तस्बिरहरू र डिजिटल एलिभेसन मोडेलहरूको विश्लेषण गरेको थियो । यसका आधारमा एआईले बालुवाका पासोहरू, ठुला ढुङ्गाहरू र असमतल भूभाग जस्ता अवरोधहरू पहिचान गरी सुरक्षित बाटोको नक्सा तयार पारेको थियो ।
यो प्रणाली एन्थ्रोपिकको क्लउड एआई सम्बन्धित प्रविधि प्रयोग गरेर विकास गरिएको हो । मंगल ग्रहमा उक्त मार्ग निर्देशन पठाउनुअघि नासाको ‘जेट प्रोपल्सन ल्याबोरेटरी’ मा रहेको रोभरको अर्को मोडेलमा यसको सफल परीक्षण गरिएको थियो ।
पर्सेभेरेन्स रोभरको एउटा मुख्य विशेषता के छ भने यसले गुड्दै गर्दा नै तस्बिरहरूको विश्लेषण गर्न सक्छ । यसअघिका कतिपय रोभरहरूले तस्बिर खिच्न र विश्लेषण गर्नका लागि यात्रा रोक्नुपर्ने बाध्यता थियो ।
नासाले अब रोभरलाई आफ्नो स्थान आफैँ पत्ता लगाउन सक्ने बनाउन एआईको प्रयोग गर्ने तयारी गरिरहेको छ । हाल यो काम पृथ्वीबाट गरिन्छ, जसमा धेरै समय खर्च हुने गर्छ । यदि रोभरले आफ्नो स्थान आफैँ ठम्याउन सक्यो भने मानिसको हस्तक्षेप बिना नै अझ लामा र चुनौतीपूर्ण यात्राहरू सम्भव हुनेछन् ।
भविष्यमा यो प्रविधि मंगल ग्रहका आगामी अभियानका साथै शनिको चन्द्रमा 'टाइटन' मा पठाइने ‘ड्र्यागनफ्लाई’ (Dragonfly) मिसनमा समेत प्रयोग गरिनेछ । नासाका अधिकारीहरूका अनुसार पृथ्वीभन्दा बाहिर मानिसको दीर्घकालीन उपस्थितिका लागि यस्ता बुद्धिमानी र स्वतन्त्र रोबोटिक प्रणालीहरू अनिवार्य हुनेछन् ।
पछिल्लो अध्यावधिक: माघ २९, २०८२ १३:४६
