टियागोबाट टाटाकै नेक्सन के-३ मा अपग्रेड भएकी निस्ताः कस्तो छ त यो नयाँ ईभी गाडीको अनुभव ?
फागुन १, २०८२ ११:८
काठमाडौँ । नेपाली सडकमा विद्युतीय सवारीसाधनको लहर चलिरहेको छ । यस लहरको अग्रपङ्क्तिमा देखिने एउटा नाम हो- टाटा नेक्सन ईभी । पछिल्ला केही वर्षदेखि नेपाली प्रयोगकर्ताको मन जित्न सफल यो गाडीले जति प्रशंसा बटुलेको छ, त्यति नै यसका केही पक्षहरूमाथि आलोचना पनि हुने गरेको छ ।
हालै टेकपानाका लागि जय प्रधानले टाटा नेक्सन ईभी (के-३ संस्करण) की धनी निस्ता सिग्देलसँग उनको साढे दुई महिनाको अनुभवबारे विस्तृत कुराकानी गरेका छन् । टियागो ईभीबाट नेक्सनमा अपग्रेड गरेकी निस्ताको अनुभवमा यो गाडी कस्तो छ त ? यो सामग्रीमा त्यसैलाई सङ्क्षिप्त रूपमा समेट्न खोजेका छौँ ।
बजारमा आकर्षक फिचर्सका साथ नयाँ-नयाँ चिनियाँ ईभीहरू भित्रिरहेका छन् । तर निस्ताले भने फेरि पनि टाटा नै रोजिन् । यसको मुख्य कारण उनी टाटाको 'आफ्टर सेल्स सर्भिस' लाई मान्छिन् । उनी भन्छिन्, "टियागो चलाउँदा बाटोमा गाडी बिग्रिए पनि ३-४ घण्टाभित्रै सर्भिस सेन्टरबाट मान्छे आएर पिक-अप गरिदिन्थे । उनीहरूको फलो-अप र सेवाले मलाई टाटाप्रति नै विश्वस्त बनायो ।"
नेक्सनको नयाँ फेसलिफ्ट डिजाइनले धेरैको ध्यान तान्छ । यसमा रहेको 'इन्फिनिटी डीआरएल' पनि निस्तालाई निकै मनपर्ने पक्ष हो । रातको समयमा गाडी चलाउँदा यसको हेडलाइटको प्रकाश र फग लाइटको व्यवहारिकताले ड्राइभिङलाई सहज बनाउँछ । कुहिरो लागेको बेला पनि एलईडी ल्याम्पले राम्रो भिजिबिलिटी प्रदान गर्ने उनको अनुभव छ ।
गाडीको इन्टेरियर (भित्रि भाग) पियानो फिनिस र ग्लसी डिजाइनले भरिएको छ, जसले प्रिमियम लुक्स दिन्छ । तर, यो सेतो र सफा इन्टेरियरलाई सधैं चम्किलो राख्नु भने चुनौतीपूर्ण छ । निस्ताले अझै पनि ड्याशबोर्डमा प्लास्टिक कभर राखिरहेकी छन् ताकि स्क्र्याच नहोस् । उनी भन्छिन्, "गाडी बाहिर जति सेतो छ, भित्र पनि उस्तै छ । अलि डार्क कलरको अप्सन भइदिएको भए मेन्टेनेन्समा सजिलो हुन्थ्यो ।"
नेक्सनको एउटा कमजोरीका रूपमा निस्ताले 'स्टोरेज स्पेस'लाई औँल्याएकी छिन् । गाडीभित्र मोबाइल फोन, कफी कप वा पानीको बोतल राख्न पर्याप्त ठाउँ नहुँदा उनी र उनका साथीहरूलाई कहिलेकाहीँ असजिलो महसुस हुन्छ । यद्यपि, गाडीको 'ग्लोब बक्स' भने निकै ठुलो र उपयोगी छ ।
पर्फर्मेन्स, रेन्ज र ग्राउन्ड क्लियरेन्स
३२५ किलोमिटरको रेन्ज दाबी गरिएको यो गाडीले नेपाली सडकमा सन्तोषजनक माइलेज दिइरहेको छ । १९० एमएमको ग्राउन्ड क्लियरेन्सले गर्दा कच्ची बाटो र अग्ला बम्पहरूमा गाडी ठोकिने डर हुँदैन । गाडीमा इको (Eco), सिटी (City) र स्पोर्ट्स (Sport) गरि तीनवटा ड्राइभ मोडहरू छन् । निस्ताका अनुसार सिटी मोड दैनिक ड्राइभिङका लागि उपयुक्त छ भने स्पोर्ट्स मोडमा गाडीको पिक-अप निकै शक्तिशाली हुन्छ ।
यो गाडीमा ३६० डिग्री क्यामेरा छ, जसले पार्किङ र साँघुरो बाटोमा निकै मद्दत गर्छ । जेबीएलका ९ वटा स्पिकरले प्रदान गर्ने साउन्ड क्वालिटी यसको अर्को सबल पक्ष हो । सुरक्षाका लागि यसमा एडास (ADAS) फिचर भए पनि निस्ताले नेपाली सडकको ट्राफिकको अवस्था हेरेर त्यसलाई बन्द राख्ने गरेकी छन् । तर, अटो होल्ड र हिल असिस्ट जस्ता फिचर्सले उकालो र ओरालो बाटोमा ढुक्कसँग चलाउन सघाएको उनले बताइन् ।
चार्जिङ, ब्याट्री लाइफ र गाडीको समग्र मूल्याङ्कन
गाडीसँगै ७ किलोवाटको चार्जर आउँछ । जसलाई टाटाको टिमले घरमै आएर जडान गरिदिएको थियो । राती चार्जमा राखेपछि बिहानसम्म गाडी फुल चार्ज हुन्छ । निस्ताले ट्राभल गर्दा ३.३ किलोवाटको पोर्टेबल चार्जर पनि साथै बोक्ने गर्छिन् । अहिलेसम्म उनले ब्याट्री २० प्रतिशतभन्दा तल झारेकी छैनन् ।
निस्ताले आफ्नो अनुभवको आधारमा टाटा नेक्सन के-३ लाई १० मा ९.५ अङ्क दिएकी छन् । बाँकी ०.५ अङ्क चाहिँ भित्रि ठाउँको व्यवस्थापन र केही साना एक्सेसरिजहरूको कमीका लागि हो । यदि तपाईं परिवारका लागि एउटा सुरक्षित, राम्रो ग्राउन्ड क्लियरेन्स भएको र उत्कृष्ट सर्भिस नेटवर्क भएको ईभी खोज्दै हुनुहुन्छ भने नेक्सन एउटा बलियो विकल्प हुन सक्छ ।
पछिल्लो अध्यावधिक: फागुन १, २०८२ ११:१३
