फुटपाथमा स्कुटर कुदाउनेलाई रोक्दै गरेकी एक वृद्ध महिलाको भिडिओ किन भइरहेको छ भाइरल ?
फागुन १, २०८२ १५:४०
काठमाडौँ । एक वृद्ध महिलाले फुटपाथमा स्कुटर कुदाउने चालकलाई जबरजस्त रोकेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पैदल यात्रीका लागि बनाइएको बाटोमा सवारी साधन चलाएर नियम मिच्ने चालक विरुद्ध ती महिलाले देखाएको साहसको सर्वत्र प्रशंसा भइरहेको छ ।
द इकोनोमिक टाइम्सका अनुसार यो भिडिओ भारतको केरला राज्य अन्तर्गत पर्ने कोझिकोडेको हो । भाइरल भिडिओमा ती महिला स्कुटर चालकको अगाडि फुटपाथको बीचमा उभिएको देखिन्छिन् । उनले चालकलाई अगाडि बढ्न नदिन दृढ अडान लिएकी छिन् । स्कुटर चालकले उनीसँग बहस गर्ने र छेउबाट छिर्ने प्रयास गरे पनि महिला आफ्नो ठाउँबाट टसमस हुँदिनन् ।
यो दृश्य टाढाबाट खिचिएको हुनाले यसमा अडिओ भने स्पष्ट छैन । तर भिडिओमा तनावपूर्ण संवाद भएको अनुमान गर्न सकिन्छ । जब ती महिलाले आफ्नो खल्तीबाट मोबाइल फोन निकालेर चालकको गतिविधि रेकर्ड गर्न थाल्छिन्, तब मात्र चालक हार माने र आफ्नो स्कुटर मुख्य सडकतर्फ फर्काउँछन् ।
यो घटनालाई लिएर सामाजिक सञ्जालमा मानिसहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले केरलाको उच्च साक्षरता दरको सन्दर्भ जोड्दै लेखेका छन्, "शिक्षा भनेको जागिर वा व्यापार मात्र होइन, यसले नागरिक चेतना, जिम्मेवारी र गलत कामको विरुद्धमा प्रश्न गर्ने साहस पनि दिन्छ । ती महिलालाई फुटपाथ पैदल यात्रीका लागि मात्र हो भन्ने थाहा थियो र यही चेतना नै वास्तविक शिक्षा हो ।"
यद्यपि, केही प्रयोगकर्ताहरूले ती महिलाको सुरक्षाप्रति चिन्ता पनि व्यक्त गरेका छन् । यदि स्कुटर चालक आक्रामक भएको भए स्थिति चुनौतीपूर्ण हुन सक्ने उनीहरूको तर्क छ । अर्का एक प्रयोगकर्ताले भने फुटपाथमा सवारी साधन गुडाउनेलाई कारबाही नहुँदा यस्तो समस्या बढेको र सहरका मुख्य स्थानमा सीसीटिभी क्यामेरा राखेर अनुशासन कायम गर्नुपर्ने सुझाव दिएका छन् ।
भारतमा पनि फुटपाथ अतिक्रमण र यसको दुरुपयोग एउटा बढ्दो समस्याको रूपमा देखिएको छ । द इकोनोमिक टाइम्सका अनुसार यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै गत वर्ष त्यहाँको सर्वोच्च अदालतले सबै राज्यहरूलाई फुटपाथको उचित संरक्षण र मर्मत सम्भार सुनिश्चित गर्न निर्देशन दिएको थियो ।
पछिल्लो अध्यावधिक: फागुन १, २०८२ १५:४०
