काठमाडौँ । सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले पडकास्ट सेवा सुरु गरेको छ । आफ्नो ६५औँ वार्षिकोत्सव तथा १५औँ विश्व रेडियो दिवसको अवसर पारेर राससले शुक्रबारदेखि औपचारिक रूपमा पडकास्ट सुरु गरेको हो ।
राससका अध्यक्ष धर्मेन्द्र झाले डिजिटल युगको आवश्यकता र बढ्दो प्रभावलाई मध्यनजर गर्दै राससले नयाँ यात्राको सुरुवात गरेको जानकारी दिए । “अबको डिजिटल युगमा कुनै पनि सञ्चारमाध्यम प्रविधिको प्रभावबाट मुक्त हुन सक्दैन,” अध्यक्ष झाले भने, “त्यसै यथार्थलाई स्वीकार गर्दै राससले पनि आफूलाई विस्तार गर्ने प्रयत्न गरेको हो । यस यात्रामा हाम्रा सबै शुभेच्छुकको सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।”
रासस पडकास्टको पहिलो शृङ्खलामा अतिथिको रूपमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहभागी भएका छन् । समाचारलाई श्रव्य र दृश्य दुवै माध्यमबाट विस्तार गर्ने लक्ष्यसहित यो सेवा सुरु गरेको राससले जनाएको छ ।
पछिल्लो अध्यावधिक: फागुन २, २०८२ १२:२
