close

रामकुमारी झाँक्रीले गुल्मीका शिक्षकलाई आठ वर्ष पहिला थर्काएको अडिओ भाइरल, के हो वास्तविकता ?

टेकपाना टेकपाना

फागुन २, २०८२ १२:३१

रामकुमारी झाँक्रीले गुल्मीका शिक्षकलाई आठ वर्ष पहिला थर्काएको अडिओ भाइरल, के हो वास्तविकता ?

काठमाडौँ । एमाले नेतृ एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीको आठ वर्ष पुरानो अडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । पुरानो सन्दर्भ र समय नखुलाई भाइरल गराइएको उक्त अडिओका कारण झाँक्रीले सामाजिक सञ्जालमा चर्को आलोचना र व्यक्तिगत गालीगलौजको सामना गर्नुपरेको छ । 

अडिओमा झाँक्रीले कुँवर थरका व्यक्तिलाई फोनमार्फत निकै आक्रामक शैलीमा थर्काएको सुनिन्छ । झाँक्रीले भनेकी छिन्, “कुँवरजी । तपाईंलाई भोजराज सरको घर अगाडि बोलाएको, आउनुभयो ?”

त्यसपछि कुँवरले सोधेका छन्, “हजुर को बोल्नु भो र ?” 

झाँक्रीले भनेकी छिन्, “म रामकुमारी झाँक्री हो । फेसबुकमा जे पायो त्यही लेख्नी ? तपाईँ यहाँ आएर फेस नगर्ने ? तपाईँ मास्टर भएर, निजी स्रोतको, बालमन्दिरको शिक्षक भएर फेसबुकमा रामकुमारी झाँक्रीको बारेमा.. तुरुन्त तपाईँ आउनुस् भोजराज सरको घर अगाडि ।”

अडिओमा झाँक्रीले कुँवर थरका व्यक्तिलाई पाँच मिनेटभित्र आफूले भनेको ठाउँमा आउन भनेकी छिन् भने कुँवरले आउँला आउँला भन्दै टार्न खोजेको सुनिन्छ । त्यसपछि धम्की दिँदै झाँक्रीले भनेकी छिन्, “के आउँला पछि, केटा बोलाएर खुट्टा भाँचिदिम् ? ...अहिले मैले राम्रो मुखले भनिरहेको छु । तुरुन्त पाँच मिनेटमा आउनुस् ।” 

संवादमा झाँक्रीले अपशब्द समेत प्रयोग गरेकी छिन्- “तेरिमा गधा, तँ नचाहिने कुरा लेख्छस्, तेरिमा गधा ।” 

अडिओमा सुनिएका पुरुषले आफूले नेपाली काँग्रेसमाथि आस्था राख्ने बताएका छन् । कुराकानीमा गुन्डा लगाएर मान्छे मारेको आरोप कुँवरले लगाएका छन् । जवाफमा झाँक्रीले भनेकी छिन्, “मान्छे मार्‍या भए गएर मुद्दा हाल्न, मान्छे को मरे ?”

११ फेब्रुअरी २०२६ दिउँसो २:२६ फेसबुक पेज ‘Celebslink-The Popular Topics’ ले झाँक्रीको उक्त अडिओ शेयर गरेको छ । अडिओमा प्रयोग गरेको तस्बिरमा लेखिएको छ, “राष्ट्रिय सभा सदस्य राम कुमारी झाँक्री र काँग्रेस कायकर्ताबिच भएको पुरानो कुराकानी भाईरल भएपछि..” ।  यो सामग्री तयार पार्दासम्म उक्त अडिओमा चार हजार ४०० भन्दा धेरैले रियाक्ट गरेका छन् भने ९३८ पटक शेयर गरिएको छ । उक्त भिडिओलाई दुई लाख ६ हजारभन्दा धेरै पटक हेरिएको छ ।   

यस्तै, रामकुमारी झाँक्रीको उक्त अडिओ अपलोड गर्दै फेसबुक प्रयोगकर्ता प्रशान्त ओली ‘कञ्चन’ ले लेखेका छन्, “डा. महावीर पुन जस्तो सबैले मानेको ब्यक्तिलाई तथानाम गालीगलौज गर्ने राम कुमारी झाँक्री नामकी यो अनैतिक राजनैतिक ब्यापारी ,जो ६/६ महिनामा पार्टी बदल्दै र दुनियाँलाई गाली गर्दै हिँड्छे ।”

टिकटकमा ‘ishwor_shrestha_official’ नामका प्रयोगकर्ताले ११ फेब्रुअरीमा सोही अडिओ पोस्ट गर्दै लेखेका छन्, “यहाँ तुरुन्त आउने कि केटाहरु बोलाएर खुट्टा भाच्दिम ? रामकुमारी झाँक्री”

के हो वास्तविकता ?

झाँक्रीले धम्की दिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि टेकपाना फ्याक्टचेक डेक्सले त्यसबारे खोजी गर्दा उक्त फोन संवाद आठ वर्ष पुरानो रहेको पाइएको छ । 

अनलाइन पोर्टल ‘हाम्रा कुरा’ले २१ असार २०७४ मा प्रकाशित गरेको समाचार फेला पर्‍यो । “रामकुमारी झाँक्रीलाई देउता चढेपछि: शिक्षकको खुट्टा भाँच्ने धम्की (अडिओ सहित )” शीर्षकमा सार्वजनिक समाचारमा झाँक्रीले गुल्मीका स्थानीय शिक्षक बमबहादुर कुँवरलाई धम्की दिएको उल्लेख छ । समाचारमा ब्याकलिङ्क गरेर फेसबुकमा ‘Postpati’ नामको पेजबाट ५ जुलाई २०१७ मा सार्वजनिक भएको अडिओ राखिएको छ । सोही अडिओ हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको पाइएको हो । 

यस अडिओको विषयमा अनलाइनखबरले ​२३ असार २०७४ मा ‘रामकुमारी झाँक्री भन्छिन्ः तर्साउन मात्र खोजेकी हुँ, खुट्टा त के भाँच्थें !’ शीर्षकमा समाचार लेखेको पाइयो । अनलाइनखबरको समाचारमा झाँक्रीले उक्त अडिओ आफ्नै भएको स्वीकार गरेकी छिन् ।

समाचार अनुसार उक्त अडिओ १६ असार २०७४ को हो । सो समयमा अनलाइनखबरसँग झाँक्रीले उक्त अडिओ आफ्नै भएको स्वीकार गर्दै आफ्नो चरित्रहत्या गर्ने गरी गलत समाचार आएपछि झोंकमा तर्साउन मात्र खोजेको बताएकी थिइन् ।

 समाचार अनुसार स्थानीय तह निर्वाचनका क्रममा झाँक्रीको नेतृत्वमा खुकुरी प्रहार भएको भन्दै केही अनलाइनमा समाचार आएपछि उनले सोही विषयलाई लिएर ती शिक्षकलाई थर्काएकी थिइन् । चुनावको सेरोफेरोमा आफ्नो चरित्रहत्या गर्नेगरी कुँवरले थुप्रै फेसबुक स्टाटस लेखेको झाँक्रीको आरोप छ ।

“चुनावका क्रममा मेरो नेतृत्वमा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको र म पक्राउ परेको जस्ता कपोलकल्पित कुराहरु उनले फेसबुकमा लेखेछन् र त्यसैलाई आधार मानेर केही अनलाइनहरुले समाचार बनाएछन् । त्यही कारण मैले उसलाई झपार्नु परेको हो,” झाँक्रीले अनलाइन खबरलाई भनेकी छिन् ।

आठ वर्षअघिको विवादास्पद टेलिफोन संवादलाई अहिले नयाँजस्तो गरी भाइरल बनाउँदा सामाजिक सञ्जालमा भ्रम सिर्जना भएको छ । धेरै प्रयोगकर्ताले यसको पुरानो सन्दर्भ नबुझी झाँक्रीको व्यक्तिगत चरित्र र राजनीतिक नैतिकतामाथि प्रश्न र असभ्य टिप्पणी गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८२ १२:५५