काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा टिकटकको मातृ कम्पनी बाइटडान्सले सार्वजनिक गरेको नयाँ भिडिओ जेनेरेटर 'सिड्यान्स २.०' (Seedance 2.0) ले हलिउडमा ठुलो हलचल पैदा गरेको छ । नेटफ्लिक्स, डिज्नी, वार्नर ब्रदर्स र प्यारामाउन्ट जस्ता विश्वका ठुला मनोरञ्जन कम्पनीहरूले बाइटडान्सलाई आफ्नो बौद्धिक सम्पत्ति (आईपी) चोरी गरेको भन्दै कडा चेतावनी दिएका छन् ।
यो विवाद त्यतिखेर सुरु भयो, जब हलिउडका चर्चित स्टारहरू टम क्रुज र ब्राड पिट एक पुलमा झगडा गरिरहेको १५ सेकेन्डको अत्यन्तै यथार्थपरक भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । डेडपुल फिल्मका लेखक रेट रिसले यो भिडिओ देखेपछि 'हाम्रो लागि अब सबै समाप्त भयो' भन्दै चिन्ता व्यक्त गरे । उनले भविष्यमा एक जना मानिसले कम्प्युटरमा बसेर क्रिस्टोफर नोलन जत्तिकै गुणस्तरीय फिल्म बनाउन सक्ने र यसले हलिउडको अस्तित्वमाथि नै खतरा पुर्याउने चेतावनी दिएका छन् ।
ठुला स्टुडियोहरूको कडा आपत्ति र कानुनी प्रक्रियामा जाने धम्की
डिज्नीले बाइटडान्सलाई पठाएको पत्रमा सिड्यान्स २.० ले 'डिज्नीको बौद्धिक सम्पत्तिको भर्चुअल लुट (virtual smash-and-grab)' गरिरहेको आरोप लगाएको छ । डिज्नीका प्रसिद्ध पात्रहरू जस्तै स्पाइडर-म्यान, डार्थ वेडर र बेबी योडा (Grogu) लाई बिना अनुमति एआई भिडिओमा प्रयोग गरिएको पाइएको छ ।
यसैगरी नेटफ्लिक्सले पनि बाइटडान्सलाई कडा पत्र पठाउँदै आफ्नो बौद्धिक सम्पत्तिलाई 'सित्तैमा पाइने सार्वजनिक सामग्री' जस्तो व्यवहार नगर्न चेतावनी दिएको छ । नेटफ्लिक्सका अनुसार सिड्यान्स २.० ले स्ट्रेन्जर थिङ्ग्स (Stranger Things), ब्रिजर्टन (Bridgerton), स्क्विड गेम (Squid Game) र के-पप डेमन हन्टर्स जस्ता चर्चित शोहरूका पात्र र दृश्यहरू अवैध रूपमा नक्कल गरिरहेको छ ।
'हाइ-स्पिड पाइरेसी इन्जिन'
वार्नर ब्रदर्स डिस्कभरीले पनि सुपरम्यान, वन्डर वुमन र जोकर जस्ता डीसी कमिक्सका पात्रहरू सिड्यान्स २.० मा प्रि-लोड गरिएको भन्दै यसलाई 'नियतवश गरिएको डिजाइन छनोट' भनेको छ । स्टुडियोहरूले यसलाई 'हाइ-स्पिड पाइरेसी इन्जिन' को संज्ञा दिँदै आफ्ना सामग्रीहरू एआईलाई सिकाउन (training) प्रयोग नगर्न र पहिले नै बनाइएका भिडिओहरू हटाउन माग गरेका छन् ।
प्राविधिक शङ्का र एआईको क्षमता
भिडिओ कत्तिको वास्तविक छ भन्ने विषयमा प्राविधिकहरू बीच पनि बहस सुरु भएको छ । भिजुअल इफेक्ट विज्ञ एरन पिटरसनले यो भिडिओ पूर्ण रूपमा एआईले मात्र बनाएकोमा शङ्का व्यक्त गरेका छन् । उनले यो भिडिओ ग्रीन स्क्रिनमा सुट गरिएको वास्तविक स्टन्टम्यानहरूको कुश्तीमा एआई प्रयोग गरेर अनुहार मात्र परिवर्तन गरिएको हुन सक्ने तर्क गरेका छन् ।
यद्यपि सिड्यान्स २.० ले भौतिक शास्त्रका नियमहरूलाई बुझेर अत्यन्तै यथार्थपरक भिडिओ बनाउन सक्ने क्षमता राखेको उल्लेख गरेको छ ।
के भन्छ बाइटडान्स ?
चौतर्फी दबाबपछि बाइटडान्सले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गरेको छ । कम्पनीले आफू बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र प्रयोगकर्ताहरूबाट हुने अनधिकृत प्रयोग रोक्नका लागि सुरक्षा घेराहरू बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ ।
यो विवादले एआई र कला उद्योग बीचको सम्बन्धमा नयाँ मोड ल्याएको छ । डिज्नी जस्ता कम्पनीहरूले ओपन एआईसँग आधिकारिक सम्झौता गरे पनि सिड्यान्स जस्ता नियम बिनाका उपकरणहरूले गर्दा यो क्षेत्र अझै कानुनी र नैतिक रूपमा अन्योलमा रहेको देखिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन ८, २०८२ १४:३२
