close

भाइरल भिडिओ प्रकरण: एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

टेकपाना टेकपाना

फागुन ८, २०८२ १८:३८

भाइरल भिडिओ प्रकरण: एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

काठमाडाैँ । दाङको तुलसीपुरमा नेकपा (एमाले) को निर्वाचन चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-७, कालाखोला बस्ने ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन् ।

बस्नेतलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई स्वागत गर्न बिहीबार राति तुलसीपुर-५ स्थित वीरेन्द्र चोकमा भेला भएको भीडमा केही व्यक्तिले एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएका थिए । सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरिएको थियो ।

झण्डा जलाइएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटनाको आलोचना भइरहेको छ ।

प्रहरीले पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको र भिडिओमा देखिएका अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जनाएको छ ।

निर्वाचनको समयमा शान्ति-सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न र संयमित रहन प्रहरीले सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ८, २०८२ १८:४८