अब गुगलको जेमनाई एआईमा सजिलै नेपाली, हिन्दी, अङ्ग्रेजी लगायत भाषामा म्युजिक तयार पार्न सकिने
फागुन १०, २०८२ १७:११
काठमाडौँ । अब गुगलको एआई जेमनाईमार्फत म्युजिक तयार पार्न सकिने भएको छ । यससँगै अब प्रयोगकर्ताले केवल शब्दहरू (text) वा फोटो र भिडिओहरू अपलोड गरेकै भरमा आफ्नो मौलिक सङ्गीत बनाउन सक्नेछन् ।
यो नयाँ फिचर गुगल डिपमाइन्डको अहिलेसम्मकै सबैभन्दा एड्भान्स म्युजिक मोडेल 'लिरिया ३' मा आधारित छ । यो मोडेलले ३० सेकेन्डसम्मको उच्च गुणस्तरको म्युजिक ट्र्याक बनाउन सक्छ । प्रयोगकर्ताले आफूले चाहेको विधा (genre), मुड (mood) वा कुनै विशेष सम्झनाको वर्णन गरेर गीत बनाउन सक्छन् ।
यो प्रविधि मल्टिमोडलमा आधारित छ । जसको अर्थ प्रयोगकर्ताले फोटो अपलोड गरेर त्यसको आधारमा म्युजिक बनाउन भन्दै जेमनाईलाई अह्राउन सक्छन् । उदाहरणका लागि आफ्नो कुकुरको फोटो राखेर 'मेरो कुकुर वनमा पदयात्रा गर्दै गरेको बारेमा एउटा गीत बनाऊ' भनेर प्रम्प्ट दिँदा जेमनाईले सोही अनुसारको म्युजिक र शब्दहरू तयार पारिदिन्छ ।
लिरिया ३ ले अघिल्ला मोडेलहरूको तुलनामा तीनवटा मुख्य सुधारहरू ल्याएको छ । प्रयोगकर्ताले आफैँ शब्दहरू लेख्नु पर्दैन; प्रम्प्टको आधारमा एआईले आफैँ लिरिक्स तयार पार्छ । त्यस्तै भोकल, शैली र टेम्पोमा प्रयोगकर्ताको बढी नियन्त्रण हुन्छ ।
साथै यसले थप यथार्थपरक र साङ्गीतिक रूपमा जटिल ट्र्याकहरू बनाउन सक्छ । म्युजिक मात्र नभएर जेमनाईले नानो बनाना प्रविधिको प्रयोग गरेर उक्त गीतका लागि एउटा आकर्षक कभर आर्ट (cover art) पनि बनाइदिन्छ । यसरी तयार भएको गीतलाई डाउनलोड गर्न वा सिधै लिङ्क मार्फत साथीहरूसँग शेयर गर्न सकिन्छ ।
यो सुविधा हाल १८ वर्षभन्दा माथिका प्रयोगकर्ताहरूका लागि बेटा भर्सनको रूपमा उपलब्ध गराइएको छ । जेमनाईले नेपाली, हिन्दी, अङ्ग्रेजी, स्पेनिश, फ्रेन्च, जर्मन, जापानी, कोरियन र पोर्चुगिज आदि भाषामा म्युजिक तयार पार्न दिन्छ ।
यो सुविधा डेस्कटपमा रोल-आउट सुरु भइसकेको छ भने मोबाइल एपमा केही दिनभित्रै उपलब्ध हुने बताइएको छ । गुगल एआई प्लस, प्रो र अल्ट्रा प्रयोगकर्ताहरूले निःशुल्क प्रयोगकर्ताको तुलनामा धेरै गीतहरू बनाउन पाउनेछन् ।
यो केवल व्यावसायिक सङ्गीतकारका लागि मात्र नभई सामाजिक सञ्जालका सामग्री बनाउने र रमाइलोका लागि म्युजिक बनाउन चाहने जोकोहीका लागि एउटा नयाँ माध्यम बन्ने निश्चित छ ।
प्रतिलिपि अधिकार (कपीराइट) लाग्छ कि लाग्दैन ?
एआईमार्फत म्युजिक बनाउँदा कलाकारहरूको नक्कल हुने डरलाई सम्बोधन गर्न गुगलले विशेष व्यवस्था गरेको छ । जेमनाईले कुनै खास कलाकारको ठ्याक्कै नक्कल गर्दैन, बरु उनीहरूको शैलीबाट प्रेरणा मात्र लिन्छ । सबै एआई-जेनेरेटेड म्युजिकमा सिन्थ आईडी नामक एउटा नदेखिने र नसुनिने वाटरमार्क राखिएको हुन्छ ।
यदि कसैलाई कुनै अडियो एआईले बनाएको हो कि होइन भन्ने शङ्का लागेमा उक्त फाइल जेमनाईमा अपलोड गरेर सोध्न सकिन्छ । जेमनाईले सिन्थ आईडी स्क्यान गरेर त्यसको वास्तविकता बताइदिनेछ ।
पछिल्लो अध्यावधिक: फागुन १०, २०८२ १७:११
