मिडियाको आवरणमा भ्रम फैलाउने सामाजिक सञ्जाल पेजमाथि कारबाही थाल्दै प्रेस काउन्सिल
फागुन १४, २०८२ २२:५४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा मिडियाको आवरणमा भ्रमपूर्ण र तथ्यहीन सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जालहरूमाथि निगरानी गरिरहेको जनाएको छ । निर्वाचनलाई प्रभाव पार्ने गरी राजनीतिक दल र उम्मेदवार विरुद्ध गालीगलौज, दुष्प्रचार र द्वेषपूर्ण सूचना प्रवाह गर्ने युट्युब च्यानल, फेसबुक पेज लगायतलाई कारबाहीका लागि प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलको भनाइ छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका क्रममा दर्ता र अभिलेखीकरण नभएका तर मिडियाको शैलीमा सञ्चालित सामाजिक सञ्जालबाट आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको जानकारी दिएको छ ।
निर्वाचन आयोगमा परेका उजुरी र काउन्सिलको आफ्नै अनुगमनका क्रममा कतिपय सामाजिक सञ्जालले निर्वाचन आचारसंहिता प्रतिकूल कार्य गरेको पाइएको छ । सुरुमा सचेत गराउँदा समेत अटेर गरी पटक-पटक नियम उल्लंघन गर्ने सञ्जालहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासन तथा साइबर ब्युरोमा पठाइएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार कतिपय युट्युब च्यानल, फेसबुक पेज र रिलहरूले मिडियाकै झल्को दिने गरी आवरण बनाएर राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुर्याउने, होच्याउने, अपमान गर्ने र मिथ्या सूचना प्रवाह गर्ने गरेका छन् । यस्ता सामग्रीले सन्तुलित पत्रकारिताको मूल्य मान्यतालाई चुनौती दिएको काउन्सिलको ठहर छ ।
काउन्सिलले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विपरीतका सामग्री पोस्ट, शेयर, स्पोन्सर्ड वा कमेन्ट नगर्न आग्रह गरेको छ ।
प्रचलित कानुन तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन सक्ने भन्दै काउन्सिलले संवेदनशील समयमा जिम्मेवार बन्न सरोकारवालालाई ध्यानाकर्षण गराएको छ । 
पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ २३:३१
