close

महाकाली सन्धिमा मेरो हस्ताक्षर छैन, सामाजिक सञ्जालमा भ्रम नछरौँ: पूर्वसभामुख घिमिरे

टेकपाना टेकपाना

फागुन १५, २०८२ १५:३२

महाकाली सन्धिमा मेरो हस्ताक्षर छैन, सामाजिक सञ्जालमा भ्रम नछरौँ: पूर्वसभामुख घिमिरे

काठमाडाैँ । नेकपा एमालेका नेता एवं पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिको विषयमा सामाजिक सञ्जालमा आफ्नाबारे भ्रामक प्रचार भइरहेको दाबी गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै झापा क्षेत्र नं. २ का​ प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका घिमिरेले उक्त सन्धि हुँदा आफू राज्यको कुनै पनि जिम्मेवार ओहदामा नरहेको उल्लेख गरे ।

“म स्पष्ट पार्न चाहन्छु- कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदमा थिइनँ,” उनले भनेका छन् ।

“लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ । पार्टीमा मेरो मत जाहेर गरेको हुँ । मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौं । भएको यति हो । पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धि गर्दछ भन्ने पनि नबुझेको देख्दा मलाई साहे दिग्दारी लागेको छ ।” 

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओमा पत्रकार मनोज सापकोटाले पूर्वसभामुख घिमिरेसँग महाकाली सम्झौतासम्बन्धी प्रश्न उठाएको देखिन्छ । सापकोटाले प्रश्न गरेका छन्- “तपाईं महाकाली बेच्दाको अन्तिम सिग्नेचरकर्ता है ?” यस प्रश्नलाई लिएर घिमिरे आक्रोशित देखिए र ‘त्यस्ता वाहियात कुराहरू नगर्नुस्’ भन्दै प्रतिक्रिया दिए । 

उक्त भिडिओ अहिले अमुक दलको प्रचार सामग्री बनेको भन्दै उनले दुःख व्यक्त गरेका छन् । नियोजित रूपमा सोधिएको प्रश्न भएकाले आफूले तत्कालीन समयमा जवाफ नदिएको तर अहिले त्यसलाई चुनावी र राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको उनको दाबी छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ १५:४२