close

सामाजिक सञ्जालमा फैलिने ५४ प्रतिशत भ्रामक सूचना ‘डिपफेक’: निर्वाचन आयोग

टेकपाना टेकपाना

फागुन १६, २०८२ ९:३०

सामाजिक सञ्जालमा फैलिने ५४ प्रतिशत भ्रामक सूचना ‘डिपफेक’: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा फैलाइने भ्रामक तथा द्वेषपूर्ण (टक्सिक) सूचनामध्ये आधाभन्दा बढी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट निर्मित ‘डिपफेक’ सामग्री रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन् ।

आयोगअन्तर्गतको ‘सूचना सदाचार प्रवर्द्धन एकाइ’ ले सम्पादन गरेका कार्यहरूको विवरण प्रस्तुत गर्दै प्रवक्ता भट्टराईले हालसम्म ६१२ ओटा भ्रामक सूचना पहिचान गरिएको बताए । पहिचान भएका ती सामग्रीमाथि आवश्यक कारबाही र कार्यान्वयनका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकिएको आयोगले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले गरेको एक अध्ययनको सन्दर्भ जोड्दै प्रवक्ता भट्टराईले सामाजिक सञ्जालका ५४ प्रतिशत भ्रामक सामग्री एआईमार्फत सिर्जना गरिएको पाइएको बताए । “सामाजिक सञ्जालमा आइरहेका टक्सिक सूचनामध्ये ५४ प्रतिशत एआईबाट उत्पादित छन्, जसलाई हामी 'डिपफेक' भन्छौँ,” उनले भने, “यूएनडीपीको अध्ययनअनुसार ती सामग्री एआईबाट बनाइए पनि झट्ट हेर्दा वास्तविक जस्तै देखिने र आम दर्शकलाई भ्रमित पार्ने किसिमका छन् ।”

यसैगरी, निर्वाचनको आर्थिक पारदर्शितालाई ध्यानमा राख्दै आयोगले बैंक खाता सञ्चालनबारे पनि जानकारी दिएको छ । जसअनुसार हालसम्म ११ राजनीतिक दल र एक हजार ६७० जना उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याइसकेका छन् ।

 

पछिल्लो अध्यावधिक: फागुन १६, २०८२ ९:३०