close

आईटी शिक्षकदेखि साइबर ब्युरोको प्रवक्तासम्म, एसपी अवस्थीको अनुभवमा अपराधको नयाँ स्वरूप र चुनौती

टेकपाना टेकपाना

फागुन १६, २०८२ १३:५३

आईटी शिक्षकदेखि साइबर ब्युरोको प्रवक्तासम्म, एसपी अवस्थीको अनुभवमा अपराधको नयाँ स्वरूप र चुनौती

काठमाडौँ । अहिलेको डिजिटल युगमा मानिसको आधाभन्दा बढी समय इन्टरनेट र सामाजिक सञ्जालमा बित्न थालेको छ । प्रविधिको यो तीव्र विकाससँगै अपराधको स्वरूप पनि पूर्ण रूपले बदलिएको छ, जहाँ बाटोमा पकेट मारिने डरभन्दा घरमै बसेर बैंक खाता रित्तिने त्रास बढी छ । यस्तो संवेदनशील र चुनौतीपूर्ण समयमा नेपाल प्रहरीको साइबर ब्युरोमा रहेर दिनहुँ हजारौँ डिजिटल उजुरी र गुनासाहरूको सामना गरिरहेका अग्रपङ्क्तिका अधिकारी हुन्– प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थी । विगत दुई वर्षदेखि ब्युरोको प्रवक्ताका रूपमा कार्यरत अवस्थी करिब १९ वर्षदेखि प्रहरी सेवामा आबद्ध छन् । उनी सूचना प्रविधि र कानुन कार्यान्वयनको एक रोचक सङ्गममा गाँसिएका छन् ।

अवस्थीको सुरुवाती लक्ष्य प्रहरी अधिकारी बन्ने थिएन । सूचना प्रविधि (आईटी) मा स्नातक गरेपछि उनी एउटा विद्यालयमा शिक्षण पेसामा आबद्ध थिए । विद्यार्थी र सहकर्मीमाझ लोकप्रिय उनलाई विद्यालयले स्थायी रूपमै राख्न चाहेको थियो ।

तर, समय २०६२/६३ सालतिरको तत्कालीन सशस्त्र द्वन्द्वको थियो । “म वास्तवमा प्रहरीमै काम गर्छु भनेर आएको थिइनँ, म एउटा स्कुलमा पढाउँथेँ । तर परिस्थिति असहज थियो र त्यही बेला लोकसेवाबाट प्राविधिकतर्फ विज्ञापन खुल्यो,” उनी आफ्नो विगत सम्झिन्छन् । एउटा सुरक्षित सरकारी जागिरको खोजी र देशको परिस्थितिको मूल्याङ्कन गर्दै उनले परीक्षा दिए र प्राविधिकतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नाम निकाले । यसरी एउटा आईटी शिक्षकको यात्रा नेपाल प्रहरीको प्राविधिक अधिकारीका रूपमा रूपान्तरण भयो ।

सुरुवाती दिनमा नेपाल प्रहरीमा ‘साइबर अपराध’ को अनुसन्धानभन्दा पनि कार्यालयको कामलाई ‘अटोमेसन’ (स्वचालन) गर्ने कुरामा बढी जोड दिइन्थ्यो । ‘जीआईएस’ मा स्नातकोत्तर गरेका अवस्थीको सुरुवाती जिम्मेवारी प्रहरीको आन्तरिक कार्यलाई प्रविधिमैत्री बनाउनु थियो । प्रहरी सेवामै रहँदा सन् २०११/१२ तिर उनी उच्च शिक्षाका लागि युरोपेली देश नेदरल्यान्ड्स पुगे । युरोपमा पढेपछि उतै बस्ने प्रशस्त अवसर भए पनि उनले स्वदेश नै रोजे । उनी भन्छन्, “मैले उतै बसेर पीएचडी पनि गर्न सक्थेँ, तर देशमै केही गरौँ भन्ने हुटहुटी र सङ्गठनप्रतिको लगावका कारण म नेपाल नै फर्किएँ ।”

२०७५ सालमा साइबर ब्युरोको स्थापना भएपछि भने उनको कामको आयाम फेरियो । साइबर अपराधका घटना दिनानुदिन बढ्दै जान थालेपछि एउटा ‘डेडिकेटेड युनिट’ आवश्यक महसुस गरी नेपाल प्रहरीले साइबर ब्युरोको स्थापना गरेको थियो ।

प्रवक्ता अवस्थीको अनुभवमा पछिल्लो समय नेपालमा साइबर अपराधको स्वरूपमा ठुलो परिवर्तन आएको छ । पहिले सामाजिक सञ्जाल ह्याक हुने, चरित्रहत्या हुने र ‘सेक्सटर्सन’ का उजुरी बढी आउँथे । तर पछिल्लो समय अनलाइन ‘स्क्याम’ र ठगीका घटना ह्वात्तै बढेका छन् । “अहिले स्क्याम र फ्रडका घटना बढेका छन्,” उनी भन्छन्, “त्यसबाहेक वेबसाइट ह्याक गर्ने, र्‍यान्सम (फिरौती) माग्ने र डेटा ब्रिच गर्ने केसहरू पनि बढ्दो क्रममा छन् ।”

एसपी अवस्थीका अनुसार परिणामको हिसाबले ‘साइबर इनेबल्ड’ (प्रविधि प्रयोग गरी गरिने) अपराध ‘साइबर डिपेन्डेन्ट’ (प्रविधिमै आधारित) को तुलनामा बढी छन् । यद्यपि साइबर डिपेन्डेन्ट अपराधको असर निकै गम्भीर हुन्छ । प्रविधिको विकास र प्रविधिप्रति आम सर्वसाधारणको बुझाइ बढ्दै जाँदा यस्ता अपराध न्यूनीकरण हुँदै जान्छन् भन्ने उनको विश्वास छ । तर, यस्ता घटना शतप्रतिशत रोक्न कठिन हुने यथार्थ अवस्थी स्वीकार्छन् । “यस्ता अपराधका घटना निर्मूलै त गर्न सकिँदैन, तर सङ्ख्यात्मक हिसाबले कम गर्न सकिन्छ,” उनी अगाडि भन्छन्, “सामान्यतः स्क्याममा पीडित आफैँ कतै न कतै संलग्न वा झुक्किएको हुन्छ भने फ्रडमा पीडितलाई थाहै हुँदैन । स्क्याममा आफू ठगिँदै छु भन्ने सामान्य सुइँको पाए पनि केही प्रलोभनमा परेर मानिसले विश्वास गर्छ । यो सबै हुनुका पछाडि जनचेतनाकै अभाव मुख्य कारण हो ।”

बढ्दो अपराधसँग जुध्न ब्युरोसँग पर्याप्त स्रोतसाधन, जनशक्ति र समयसापेक्ष कानुनको अभाव छ । २०७५ सालमा ब्युरो स्थापना हुँदा तय भएको ६४ जनाको दरबन्दी आजसम्म थपिएको छैन, जसमा आईटी पढेका प्राविधिक जम्मा ३० जना मात्र छन् । कानुनी अभावलाई औँल्याउँदै उनी भन्छन्, “हाम्रो कानुन पुरानो भइसक्यो । अहिले पनि हामी २०६३ सालको विद्युतीय कारोबार ऐन र मुलुकी अपराध संहितामा टेकेर काम गरिरहेका छौँ । अब यी पुराना कानुनलाई परिमार्जन गरेर साइबर अपराधका सबै प्रकृति समेट्ने गरी एकीकृत साइबर कानुन ल्याउनु अत्यावश्यक छ ।” यसका साथै कूटनीतिक जटिलताले अनुसन्धानलाई थप चुनौतीपूर्ण बनाएको छ । “हामीसँग म्युचुअल लिगल असिस्टेन्स ट्रिटी (MLAT) नहुँदा विदेशी कम्पनीले गोपनीयता (प्राइभेसी) को कारण देखाएर डेटा दिँदैनन् । अहिले टेलिग्राम जस्ता एप्लिकेसन वित्तीय ठगीका लागि सबैभन्दा ठुलो चुनौती बनेका छन्,” उनी अनुसन्धानका प्राविधिक तगारोहरूबारे प्रस्ट पार्छन् ।

यी तमाम चुनौतीका बाबजुद अवस्थी युवा पुस्ता र ‘इथिकल ह्याकर’ प्रति निकै सकारात्मक दृष्टिकोण राख्छन् । युवाहरूलाई प्रोत्साहन गर्दै उनी सुझाव दिन्छन्, “तपाईँको ज्ञान र सीपलाई सही ठाउँमा लगाउनुस् । भोलि नेपाल सरकारकै लागि काम गर्नुस्, तर सिक्ने नाममा कसैको प्रणाली (सिस्टम) मा अनुमतिबिना ‘अट्याक’ नगर्नुस् ।” युवाहरू ‘ह्वाइट ह्याट’ ह्याकर बनेर अनुमति लिएर मात्र प्रणालीको कमजोरी खोज्नुपर्ने उनको भनाइ छ ।

उनकै समन्वयमा इथिकल ह्याकरले पत्ता लगाएका कमजोरीलाई नेपाल सरकारका तीनवटा कार्यालयको सिस्टममा बिनाकुनै कारबाही सुधार गरिएको उदाहरण दिँदै उनी राज्यले ‘डेटा डिस्क्लोजर’ (बग बाउन्टी) सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्ने सल्लाह दिन्छन् ।

सर्वसाधारणको सहजताका लागि साइबर ब्युरोले बिदाको दिनमा पनि २४सै घण्टा ड्युटी अफिसर राखेर गुनासो सुन्ने व्यवस्था मिलाएको छ । राति–राति आउने फोनहरू पनि उनी सहजै उठाएर परामर्श (काउन्सिलिङ) दिन्छन् । आफ्नो व्यक्तिगत जीवन र कार्यसम्पादनको सन्तुलनबारे बोल्दै उनी आफ्नो जीवन दर्शन यसरी व्यक्त गर्छन्, “हामीले धेरै सोच्नु हुँदैन । तपाईँ जहाँ हुनुहुन्छ, आफ्नो जिम्मेवारी १०० प्रतिशत पूरा गर्नुस् । मैले मेरो काम गर्ने हो, तपाईँले तपाईँको काम गर्ने हो । सबैले आ–आफ्नो कर्तव्य इमानदारीपूर्वक गरिदिए सिङ्गो सिस्टम आफैँ सुदृढ बन्छ ।”

पछिल्लो अध्यावधिक: फागुन १६, २०८२ १३:५३