close

रास्वपाको प्रचारमा खटिएको बोलेरोमा मदिरा र चामल फेला परेको भिडिओ भाइरल, के हो वास्तविकता ?

टेकपाना टेकपाना

फागुन १८, २०८२ १५:८

रास्वपाको प्रचारमा खटिएको बोलेरोमा मदिरा र चामल फेला परेको भिडिओ भाइरल, के हो वास्तविकता ?

काठमाडौँ । सोमबार बिहानदेखि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा र स्पिकर जडान गरिएको गाडीमा मदिरा तथा खाद्यान्न ओसारपसार भइरहेको दाबीसहितको भिडिओ/फोटो भाइरल भइरहेको छ । सल्यानमा कर्णाली प्रदेश ००१८ च ०४२९ नम्बरको बोलेरो जिपमा रास्वपाको नीलो झन्डा र अगाडि स्पिकर देखिन्छ, जसमा निर्वाचन सुरक्षार्थ खटिएका दुई जना निर्वाचन प्रहरीसमेत देखिन्छन् ।

गाडीको पछाडि मदिराका कार्टुनहरू देखिएपछि यो सामग्री मतदातालाई प्रभावित पार्न लैजान लागिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न दाबी भइरहेका छन् । यस विषयमा टेकपानासँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईले घटना सल्लीबजार सल्यानको भएको बताए । 

सूचना अधिकारी भट्टराईका अनुसार चेकजाँचका क्रममा उक्त गाडीबाट दुई बोरा चामल, तीन कार्टुन चाउचाउ तथा खानेकुरा, सात कार्टुन मदिरा (रक्सी) र दुई कार्टुन बियर बरामद गरिएको छ । भट्टराईले टेकपानासँग भने, “आधिकारिक रूपमा पार्टीको गाडी भनेर त बुझिएको छैन, तर झन्डा राखेको हुनाले कतै प्रयोग भएको वा समर्थकको गाडी हुन सक्छ भन्ने देखिन्छ । तर, हामीले नियन्त्रणमा लिँदा उक्त गाडीले प्रचारप्रसार गरिरहेको थिएन ।”

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा गाडी चालक नन्द रानाले भने उक्त सामान कुनै चुनावी प्रयोजनका लागि नभई एक स्थानीय व्यवसायीको अर्डर अनुसार पसलमा पुर्‍याउन लैजान लागेको प्रहरी समक्ष बताएका छन् । 

भट्टराईले भने, “बरामद गरिएका मदिरा तथा खाद्यान्नको आधिकारिक बिलविजक र ओसारपसारको वैधानिकताका विषयमा छानबिन भइरहेको छ । चालक र व्यवसायी अहिले हाम्रो नियन्त्रणमा छन् ।”

यस विषयमा रास्वपाका सल्यानको बन्गाड कुपुण्डे नगर समिति सभापति लोकेन्द्र वलीले गाडीमा भेटिएको सामान पार्टीले वितरण गर्न नपठाएको दाबी गरेका छन् । आफू एजेन्टको नामावली तयार गर्नमा व्यस्त रहेको र सोही समयमा मोहन बिसी नाम गरेका व्यापारीले गाडीमा सामान हालिदिएको उनको भनाइ छ ।

“हामीले चुनावका लागि प्रयोग गर्ने गाडी हो, म एजेन्टको लिस्ट बनाउन लाग्दा साथीहरू गाडी लिएर माथि जानुभयो,” वलीले भने, “त्यही क्रममा बाटोमा पसल भएका मोहन बिसी दाइले सामान हालिदिनुभएको रहेछ ।”

उनले आफू प्रहरी कार्यालयमै पुगेर घटनाको निष्पक्ष र प्राविधिक अनुसन्धान गर्न आग्रह गरेको बताए । “अहिलेको डिजिटल युगमा झुट लुक्दैन, कसको कनेक्सन कोसँग छ भन्ने कुरा फोन ट्रयाक गरेरै भए पनि सत्यतथ्य छानबिन गर्नुस् भनेर मैले प्रहरीलाई भनेको छु,” वलीले भने, “हामीले मतदातालाई प्रभाव पार्न सामान बाँड्न लगाएका होइनौँ, यसमा हाम्रो संलग्नता छैन ।”

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस घटनाबारे सामग्री फैलिएपछि नगर सभापति वलीले विज्ञप्ति नै जारी गरी आवश्यक छानबिनका गर्न अनुरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “उक्त गाडी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गरेको कुरामा कुनै दुईमत छैन । तर जुन कुरालाई सामाजिक सञ्जालमार्फत मदिरा र चामल वितरण गरेको कुरा एकदमै गलत हो भन्ने कुरा यही विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु । चुनावको दौडानमा प्रयोग गरिएको उक्त गाडीको साहुले ढुवानी खर्च प्राप्त गरी व्यक्तिगत वा स्थानीय व्यवसायीको सहयोगार्थ मात्र ढुवानी गरेको हो । यसमा हाम्रो पार्टीको कुनै संलग्नता नभएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछु । उक्त घटनाको वास्तविकता छानबिनको लागि प्रशासनलाई सघाउन राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड नगर समिति सदैव तत्पर रहनेछ ।”

(टेकपानाको ह्वाट्सएप च्यानलमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।)

 

पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १७:११