मैलै ‘घन्टी’ लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको सूचना झुटो हो- दिवाकर साह
फागुन १८, २०८२ १६:४६
काठमाडाैँ । धनुषा क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार दिवाकर साहले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीका विषयमा भ्रामक सूचना फैलाइएको बताएका छन् । सोमबार फेसबुक लाइभमा आउँदै उनले आफूले अरू कसैलाई समर्थन गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।
पूर्व सञ्चारकर्मी समेत रहेका उम्मेदवार साहले ‘Janakpurdham:The Capital City Of Province 2’ नामक फेसबुक पेजले आफूले ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई समर्थन गरेको भनी फैलाएको सूचना पूर्णतः तथ्यहीन र कपोलकल्पित रहेको बताए । उनले भने, “मैले कसैलाई समर्थन गरेको छैन । निर्वाचनको मुखमा र मौन अवधि सुरु हुन लाग्दा मतदातालाई भ्रममा पार्न यस्तो षड्यन्त्र गरिएको हो ।”
उनले आफूमाथि नियोजित रूपमा ‘मिडिया ट्रायल’ गरिएको भन्दै यस कार्यमा संलग्न व्यक्ति र मिडियालाई कानुनी कठघरामा ल्याउने चेतावनी दिए ।
साहले साइबर ब्युरोको ध्यानाकर्षण गराउँदै भ्रामक सूचना फैलाउने पेजका एडमिनमाथि तत्काल कारबाही गर्न माग गरेका छन् । “हामी आफ्नो ज्यान जोखिममा राखेर, मेहेनत गरेर चुनावमा होमिएका छौँ। तर केही तत्वहरूले जनतालाई भ्रमित पार्न खोज्दैछन्,” उनले आक्रोश पोखे ।
आफूले उम्मेदवारी फिर्ता लिएको वा कसैसँग माफी मागेको भन्ने हल्लाको पनि उनले खण्डन गरे। उनले आफू इमानदारीका साथ जानकी मातालाई साक्षी राखेर चुनावी मैदानमा उत्रिएको र अन्तिम समयसम्म पछि नहट्ने अडान दोहोर्याए ।
टेकपानाको ह्वाट्सएप च्यानलमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १७:१३
