काठमाडौँ । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले निर्वाचनको मौन अवधिमा कुनै पनि प्रकारको राजनीतिक प्रचारप्रसार नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले तोकेको ४८ घण्टाको मौन अवधिलाई पूर्ण सम्मान गर्दै कम्पनीले आफ्नो प्रणालीबाट राजनीतिक सन्देश प्रवाहमा पूर्ण रोक लगाउने व्यवस्था लागु गरेको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सहयोग पुर्याउने उद्देश्यले स्प्यारो एसएमएसले विशेष 'किवर्ड ब्लक सिस्टम' सञ्चालनमा ल्याएको छ । यो प्रविधिमार्फत राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रचारसँग सम्बन्धित सामग्रीहरू पहिचान गरी स्वचालित रूपमा रोकिने (ब्लक हुने) कम्पनीले जनाएको छ । यस व्यवस्थाले मौन अवधिमा हुन सक्ने अनाधिकृत राजनीतिक डिजिटल प्रचारलाई पूर्णतः नियन्त्रण गर्ने दाबी गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले जिम्मेवार प्रविधि सेवा प्रदायकको रूपमा लोकतान्त्रिक प्रक्रियाको सुरक्षा गर्नु आफूहरूको दायित्व भएको बताएका छन् । उनले भने, "हामीले निर्वाचन आयोगका मार्गनिर्देशनहरूलाई पूर्ण रूपमा पालना गरिरहेका छौँ। मौन अवधिमा डिजिटल माध्यमबाट हुन सक्ने कुनै पनि दुरुपयोग रोक्नु हाम्रो मुख्य प्राथमिकता हो ।"
कम्पनीका अनुसार यो प्रतिबन्ध राजनीतिक प्रचारसँग सम्बन्धित सन्देशहरूमा मात्र लागु हुनेछ । अन्य नियमित सेवाहरू ओटीपी, बैंकिङ मेसेज, सेवा सम्बन्धी सूचना तथा व्यावसायिक मार्केटिङका बल्क एसएमएसहरू भने साविक बमोजिम नै सञ्चालनमा रहने सचिवालयले स्पष्ट पारेको छ ।
पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ १७:४१
