रवि लामिछानेको फेसबुक पेज पुनः गायब, फिर्ता भएको केही घण्टामै फेरि देखियो समस्या
फागुन २०, २०८२ ०:४५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक अकाउन्ट पुनः गायब भएको छ । बुधबार मात्रै आफ्नो अकाउन्ट ह्याकरको कब्जाबाट फिर्ता आएको जानकारी दिएका लामिछानेको आईडीमा समस्या देखिएको छ ।
अहिले उनको फेसबुक प्रोफाइल सर्च गर्दा 'This content isn't available right now' भन्ने सन्देश देखिन्छ । सुरक्षा कारणले फेसबुकले पुनः लक गरेको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि मंगलबार लामिछानेको फेसबुक अकाउन्टमा बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच (ह्याकिङ) को प्रयास गरेपछि मेटाले सुरक्षा संवेदनशीलताका कारण अकाउन्ट लक गरिदिएको थियो ।
सो समस्या समाधान भएको दाबी गर्दै लामिछानेले बुधबार दिउँसो पोस्ट गर्दै लेखेका थिए, “पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्तत:मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु ।”
तर, अकाउन्ट फिर्ता आएको खुसीयाली साटेको केही घण्टामै पुनः अकाउन्ट गायब हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बारम्बारको यो समस्या प्राविधिक कारणले हो वा ह्याकरहरूको निरन्तरको आक्रमणका कारण मेटाले पुनः सुरक्षा सतर्कता अपनाएको हो भन्नेबारे उनको सचिवालयले आधिकारिक जानकारी दिइसकेको छैन ।
पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ ०:५५
