close

केयूका प्राडा. सुदन झाको टोलीले विकास गरेको एजेन्टिक एआई रोबोटलाई बेलायतबाट पेटेन्ट मान्यता

टेकपाना टेकपाना

फागुन २१, २०८२ १०:४९

केयूका प्राडा. सुदन झाको टोलीले विकास गरेको एजेन्टिक एआई रोबोटलाई बेलायतबाट पेटेन्ट मान्यता

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा नेतृत्वको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले नयाँ सफलता प्राप्त गरेको छ । डा. झाको टोलीले विकास गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित ‘अफिस रोबोट’ लाई बेलायतको इन्टेलेक्चुअल प्रोपर्टी अफिसले हालै अन्तर्राष्ट्रिय पेटेन्ट (डिजाइन दर्ता) प्रदान गरेको हो ।

एजेन्टिक एआई-असिस्टेड अफिसर रोबोट विथ एन्थ्रोपोमोर्फिक डिस्प्ले एरेन्जमेन्ट (Agentic AI-Assisted Officer Robot with Anthropomorphic Display Arrangement) नाम दिइएको यो आविष्कारले नेपालको प्राविधिक अनुसन्धानलाई विश्वस्तरमा पुर्‍याएको डा. झाले बताए ।

यो रोबोट विशेषगरी कार्यालयका दैनिक कार्यहरूलाई स्वचालित बनाउन डिजाइन गरिएको हो । “यसमा प्रयोग गरिएको एजेन्टिक एआई प्रविधिका कारण यसले मानिसको निरन्तर निर्देशन बिना नै आफैँ सोच्न, योजना बनाउन र निर्णय लिन सक्छ,” डा. झाले टेकपानासँग भने, “फाइल व्यवस्थापन गर्ने, सूचना प्रवाह गर्ने, सामान्य प्रश्नको उत्तर दिने र कामको प्राथमिकता तोक्ने जस्ता कार्य यसले स्वतः गर्दछ ।”

रोबोटको अर्को मुख्य विशेषता यसको मानवाकार (Anthropomorphic) डिस्प्ले हो । यसको स्क्रिनमा देखिने मानिसको जस्तो अनुहारले आँखा झिम्क्याउने, यताउता हेर्ने, खुसी हुने वा व्यस्त देखिने जस्ता हाउभाउ प्रकट गर्दछ । यसले गर्दा मानिस र मसिनबिचको संवाद अझ सहज र विश्वासिलो हुने अनुसन्धान टोलीको दाबी छ ।

प्रायः एआई प्रणालीहरू इन्टरनेटमा निर्भर रहने भए तापनि यो रोबोट इन्टरनेट नभएको अवस्थामा पनि काम गर्नसक्ने गरी तयार गरिएको डा. झाको भनाइ छ । “यसले आफ्नै प्रणालीभित्रै जानकारी संकलन र विश्लेषण गरी निर्णय लिन सक्छ, जसले गर्दा कमजोर इन्टरनेट कभरेज भएका क्षेत्रका कार्यालयहरूमा समेत यो अत्यन्तै उपयोगी हुने देखिएको छ,” उनले भने ।

डा. झाले यसलाई तीन वर्षभन्दा लामो समयको निरन्तर अनुसन्धान र विद्यार्थीहरूसँगको सहकार्यको प्रतिफल भएको बताएका छन् । उनले भने, “यो मान्यताबाट म निकै सम्मानित महसुस गर्छु । यसले काठमाडौँ विश्वविद्यालय र नेपालको अनुसन्धान क्षमतालाई विश्व मानचित्रमा मजबुत बनाएको छ ।”

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १२:३