सामसङको लोकप्रिय वेब ब्राउजरको नाम परिवर्तन, अब 'सामसङ इन्टरनेट'को सट्टा ब्राउजर भनिने
फागुन २४, २०८२ ११:४७
काठमाडौँ । सामसङले आफ्ना एन्ड्रोइड डिभाइसहरूमा रहने डिफल्ट वेब ब्राउजिङ एप 'सामसङ इन्टरनेट'को नाम परिवर्तन गरेर 'सामसङ ब्राउजर' राखेको छ । यो परिवर्तन हालै सार्वजनिक भएको ग्यालेक्सी एस२६ अल्ट्रा र वन यूआई ८.५ (One UI 8.5) सफ्टवेयर अपडेटका साथ देखिएको हो ।
एपको यो नयाँ ब्रान्डिङ २९.०.४.४५ संस्करणमा पुष्टि भएको छ । फोनको एप ड्रयरमा यसलाई केवल 'ब्राउजर'को रूपमा देखाइनेछ । किनकि सामसङले गत वर्ष वन यूआई ७.० को अपडेटदेखि नै आफ्ना धेरैजसो स्टक एपहरूको नामबाट 'सामसङ' शब्द हटाउन सुरु गरेको थियो ।
यद्यपि वन यूआई ८.० वा वन यूआई ८.५ को बेटा भर्सन चलाइरहेका पुराना फोनहरूमा भने अझै पनि यो एप 'सामसङ इन्टरनेट' कै नाममा रहेको छ ।
नाम परिवर्तनसँगै सामसङले यसमा आस्क एआई (Ask AI) नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचर पनि थपेको छ । यो फिचरले प्रयोगकर्तालाई आफूले हेरिरहेको वेब पेजको बारेमा ब्राउजरसँग प्रश्न सोध्न वा अन्य निर्देशनहरू दिन अनुमति दिन्छ । यो सुविधा हालका लागि अमेरिका र दक्षिण कोरियाका प्रयोगकर्ताहरूका लागि मात्र सीमित गरिएको छ ।
नयाँ ब्राउजरमा सुरक्षालाई थप प्राथमिकता दिइएको छ । अब प्रयोगकर्ताले कुनै पनि हानिकारक वा शङ्कास्पद वेबसाइट खोल्न खोज्दा ब्राउजरले तुरुन्तै चेतावनी दिनेछ । यसका साथै एपको आइकनलाई पनि पहिलेभन्दा बढी रङ्गीन, उज्यालो र आकर्षक बनाइएको छ ।
किन उत्कृष्ट मानिन्छ सामसङ ब्राउजर ?
धेरै प्रयोगकर्ताहरूले सामसङको यो ब्राउजरलाई गुगल क्रोमभन्दा उत्कृष्ट मान्ने गरेका छन् । यो ब्राउजरले क्रोमको तुलनामा निकै कम र्याम प्रयोग गर्दछ ।
साथै यसमा रहेको भिडिओ असिस्टेन्ट जस्तो विशेष फिचरले प्रयोगकर्तालाई भिडिओ हेरिरहँदा अन्य काम गर्न (Picture-in-Picture mode) र फोनको स्क्रिन बन्द गर्दा पनि अडियो सुन्न अनुमति दिन्छ । यो सुविधा युट्युब जस्ता प्लेटफर्ममा सामान्यतया पैसा तिरेर मात्र पाइन्छ ।
एपको मुनि रहेको तीन-धर्का भएको आइकनमा थिचेर सजिलैसँग मोबाइल र डेस्कटप वेबसाइटहरू बीच स्वीच गर्न सकिन्छ । यसले थर्डपार्टी ट्रयाकरहरूलाई स्वतः ब्लक गर्ने क्षमता राख्दछ ।
हाल यो नयाँ नाम र फिचरहरू ग्यालेक्सी एस२६ सिरिजमा मात्र उपलब्ध भए तापनि आगामी दिनहरूमा यो परिवर्तन अन्य ग्यालेक्सी फोनहरू र यसको डेस्कटप संस्करणमा पनि क्रमिक रूपमा विस्तार हुने अपेक्षा गरिएको छ । पहिलेदेखि 'इन्टरनेट' शब्द टाइप गरेर ब्राउजर खोज्ने बानी परेका प्रयोगकर्ताहरूका लागि अब 'ब्राउजर' भनेर खोज्नुपर्ने कुराले केही समय अन्योल भने सिर्जना गर्न सक्छ ।
पछिल्लो अध्यावधिक: फागुन २४, २०८२ ११:४७
