close

गुगलको सिइओ सुन्दर पिचाईको नयाँ पारिश्रमिक १ खर्ब रुपैयाँभन्दा बढी !

टेकपाना टेकपाना

फागुन २४, २०८२ १६:२२

गुगलको सिइओ सुन्दर पिचाईको नयाँ पारिश्रमिक १ खर्ब रुपैयाँभन्दा बढी !

काठमाडौँ । गुगल (अल्फाबेट) ले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईका लागि ठुलो पारिश्रमिक प्याकेज घोषणा गरेको छ । जसको मूल्य ६९ करोड २० लाख अमेरिकी डलर (करिब १ खर्ब, १ अर्ब ३७ करोड रुपैयाँ) सम्म पुग्न सक्ने देखिएको छ । 

अल्फाबेट इंकको फाइलिङका अनुसार यो ‘पे प्याकेज’ (पारिश्रमिक) डिल तीन वर्षे अवधिका लागि गरिएको हो । जसले उनलाई प्रविधि विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने सीईओको रूपमा उभ्याउन सक्छ । यसको अधिकांश हिस्सा कम्पनीको कार्यसम्पादनमा आधारित छ । जसमा वाइमो (स्वचालित सवारी साधन), विङ (ड्रोन डेलिभरी सेवा) जस्ता अल्फाबेटका उदीयमान व्यवसायहरूसँग जोडिएका स्टक इन्सेन्टिभहरू समावेश छन् । 

गुगलले यसबाट पिचाईलाई कम्पनीको भविष्यका महत्त्वपूर्ण र नवीन परियोजनाहरूसँग प्रत्यक्ष रूपमा जोडेको छ । जसले गर्दा कम्पनीको आगामी सफलतासँगै उनको पारिश्रमिक पनि बढ्दै जाने सुनिश्चित गरिएको छ ।

पिचाईले सन् २०१५ देखि गुगलको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् । त्यसयता कम्पनीको बजार मूल्य झन्डै सात गुणाले वृद्धि भएको छ । हाल पिचाई र उनकी श्रीमतीको स्वामित्वमा अल्फाबेटको करिब ५० करोड अमेरिकी डलर मूल्यको शेयर रहेको छ भने गत वर्षसम्ममा उनले ६५ करोड अमेरिकी डलर बराबरको शेयर विक्री गरिसकेको अनुमान गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: फागुन २४, २०८२ १६:२६