close

चुनाव प्रचारमा फेसबुकमा साढे ६ लाख रुपैयाँ खर्च गरेका एमाले उम्मेदवार शाक्यको पेज गायब

टेकपाना टेकपाना

फागुन २७, २०८२ १५:४४

चुनाव प्रचारमा फेसबुकमा साढे ६ लाख रुपैयाँ खर्च गरेका एमाले उम्मेदवार शाक्यको पेज गायब

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचारप्रसारमा सबैभन्दा बढी रकम खर्च गर्ने नेकपा (एमाले) का उम्मेदवार डा. अजयक्रान्ति शाक्यको आधिकारिक फेसबुक पेज गायब भएको छ । काठमाडौँ क्षेत्र नम्बर ९ बाट उम्मेदवार बनेर तेस्रो स्थानमा सीमित भएका शाक्यको पेज निर्वाचनलगत्तै बेपत्ता भएको हो ।

मेटा एड्स लाइब्रेरीको तथ्याङ्क अनुसार डा. शाक्य यस निर्वाचनमा फेसबुक विज्ञापनमा सर्वाधिक खर्च गर्ने उम्मेदवारको शीर्ष स्थानमा थिए । उनको पेजबाट पछिल्लो ३० दिनको अवधिमा मात्रै तीन हजार ६४० डलर (करिब पाँच लाख ३३ हजार रुपैयाँ) खर्च गरी विज्ञापन गरिएको थियो । त्यस्तै पछिल्ला ९० दिनमा सो पेजबाट चार हजार ४२३ डलर (छ लाख ४८ हजार रुपैयाँ बढी) खर्च भएको देखिन्छ ।

चार हजार ४३ अमेरिकी डलर (पाँच लाख रुपैयाँभन्दा बढी) खर्च गरेर विज्ञापन गरिएको थियो । यस ९० दिनको अवधिमा पेजबाट २६५ ओटा पोस्ट बुस्ट गरिएको तथ्याङ्कले देखाउँछ । गुगलमा इन्डेक्स भएको विवरणअनुसार गायब हुनुअघि उक्त पेजमा तीन लाख २६ हजार बढी फलोअर थिए ।

काठमाडौँ क्षेत्र नम्बर ९ को अन्तिम मतपरिणाम अनुसार चुनाव प्रचारमा ठुलो धनराशि खर्च गरे पनि शाक्यले जम्मा चार हजार ५८० मत प्राप्त गरे । यस क्षेत्रमा ३५ हजार ९३ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल निर्वाचित भएका छन् । त्यसैगरी, नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोला पाँच हजार ४६० मतसहित दोस्रो स्थानमा रहिन् ।

लाखौँ फलोअर भएको अकाउन्ट एक्कासि किन गायब भयो भन्ने स्पष्ट कारण हालसम्म खुल्न सकेको छैन । निर्वाचन आयोगले मौन अवधि सुरु हुनुअघि नै सम्पूर्ण विज्ञापन तथा प्रचार सामग्री हटाउन निर्देशन दिएको थियो । सोही निर्देशनका कारण पनि पेजमा चुनावअघि के-कस्ता विज्ञापन सामग्री राखिएका थिए भन्ने कुरा अहिले हेर्न मिल्ने अवस्था छैन ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ २३:४२