बलात्कारपछि ‘हत्या गरिएकी’ इनिशा विकको न्यायका लागि सामाजिक सञ्जालमा #Justiceforinisha अभियान
प्रारम्भिक अनुसन्धानले के भन्छ ?
फागुन २८, २०८२ १७:५४
काठमाडौँ । सुर्खेतकी १६ वर्षीय नाबालिका इनिशा विकको मृत्यु प्रकरणलाई लिएर सामाजिक सञ्जालमा ह्यासट्याग अभियान सुरु भएको छ । विकको गत शनिबार बलात्कारपछि हत्या गरिएको भनिएको छ ।
सो घटनापछि सामाजिक सञ्जालमा #Justiceforinisha, #justiceforDalit, #justiceforwomen, #JusticeforInishaBK जस्ता ह्यासट्यागसहित अनेकौँ पोस्ट गरिएका छन् । फेसबुक, एक्स, टिकटक लगायतका सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले विभिन्न पोस्ट गर्दै उनको न्यायका लागि माग गरिरहेका छन् ।
फेसबुकको सर्च बारमा ‘inisha bk’ सर्च गर्दा popular now मा देखिएको छ । जहाँ कयौँ प्रयोगकर्ताहरूले ह्यासट्याग प्रयोग गरेर इनिशाको न्यायको लागि आवाज उठाइरहेका छन् । टिकटकमा पनि #justiceforinishabk प्रयोग गरेर ८०० भन्दा धेरै ओटा भिडिओ पोस्ट भएका छन् । ह्यासट्याग प्रयोग नगरि पनि इनिशा विकको न्याय माग गर्दै अनेकौँ पोस्ट भइरहेका छन् ।
नायिका वर्षा शिवाकोटीले फेसबुकमा एक स्टाटस लेख्दै इनिशामाथि भएको ‘सामूहिक बलात्कार’ र ‘क्रूर हत्या’ले समाजलाई नै झस्काएको बताएकी छिन् । उनले लेखेकी छिन्, “सुर्खेतमा १६ वर्षीया इनिशा बि.क. माथि भएको सामूहिक जबर्जस्ती करणी र निर्मम हत्याको खबरले मनलाई गहिरो पीडा र स्तब्धताले भरिदिएको छ। यस्तो अमानवीय र क्रूर अपराधले हाम्रो समाजको आत्मालाई नै झस्काएको छ।
यस जघन्य घटनामा संलग्न अपराधीहरूलाई कुनै प्रकारको संरक्षण होइन, कडा र निष्पक्ष कानुनी कारबाहीमार्फत कडाभन्दा कडा सजाय सुनिश्चित हुनुपर्छ। न्याय केवल पीडितका लागि मात्र होइन, सम्पूर्ण समाजका लागि आवश्यक छ। #justiceforinisha 🙏🏻”
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद मनिष खनालले पनि विकको लागि न्याय माग गरेका छन् । इनिशा विकको ‘हत्या प्रकरण’मा निष्पक्ष छानबिन माग गर्दै उनले फेसबुकमा लेखेका छन्, “नागरिकको सुरक्षा र न्याय नै विकासको वास्तविक मानक हो। इनिशा विकको हत्या प्रकरणमा निष्पक्ष छानबिन सहित पीडितलाई न्यायको प्रत्याभूति होस्। #JusticeForInisha”
वीरेन्द्रनगर-१ बस्दै आएकी १६ वर्षीया इनिशा विक शनिबार (फागुन २३) बिहान ९:४५ मा सहिद पार्कको जङ्गलमा बेहोस अवस्थामा फेला परेकी थिइन् । नग्न र रक्ताम्मे अवस्थामा फेला परेकी उनलाई प्रदेश अस्पताल सुर्खेतले मृत घोषणा गरेको थियो ।
घटनापछि चार जना नाबालकलाई पक्राउ गरेर जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् डीएसपी मोहनजङ्ग बुढा थापाले बताए । मृतकको पोस्टमार्टम भने भइसकेको छ ।
यस्तै आरोपी र पीडितका मोबाइल फोन डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ । मृत्युको यकिन कारण पत्ता लगाउन केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ‘टक्सिकोलोजिकल’ र ‘बायो सेरोलोजिकल’ परीक्षणका लागि नमुना पठाइएको छ । उक्त रिपोर्टहरू आएपछि पोस्टमार्टम रिपोर्टसँग दाँजेर अन्तिम निष्कर्ष निकालिने सूचना अधिकारी बुढा थापाले बताए ।
घटनाको सूक्ष्म अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट प्रहरी निरीक्षक नेतृत्वको टोली सुर्खेत जाँदै गरेको छ भने जिल्ला प्रहरी कार्यालयमा पनि छुट्टै अनुसन्धान टोली गठन गरिएको बताइएको छ ।
अनुसन्धानलाई थप प्रभावकारी बनाउन नेपालगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयबाट झुटो बोले/नबोलेको पत्ता लगाउने ‘पोलिग्राफ टेस्ट’ गर्ने टोली र कल डिटेल रेकर्ड विश्लेषण गर्ने विज्ञ टोली परिचालन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा के देखियो ?
प्रहरीका अनुसार युवती र घटनामा पक्राउ परेका युवकहरू विरेन्द्रनगरको उशा बालबाटिका माविमा अध्ययन गर्ने विद्यार्थीहरू हुन् । इनिशा र १७ वर्षीय किशोर (मुख्य आरोपी किशोर) बिच लामो समयदेखि एक-अर्कासँग नजिकिएका थिए । चुनावका कारण विद्यालय बिदा भएकाले शनिबार दुई जनाले सल्लाह गरेर नै भेटेको देखिएको डीएसपी थापाले बताए ।
बिहान ७ बजे उक्त घटना भएको र आठ बजेतिर कल गरेर युवकले अन्य तीन जना साथीहरूलाई अस्पतालसम्म लैजानका लागि आग्रह गरेको देखिएको उनले बताए । “त्यसपछि साढे आठ, नौ बजेतिर तीन साथीहरू आइपुगेको देखिएको छ । उनीहरूले स्थानीयलाई पनि खबर गरेका छन् । युवकले पनि माथि जङ्गलबाट गाडी आउने ठाउँसम्म युवतीलाई ल्याएका छन् । साढे ९ बजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरू को थिए भन्ने कुरा नै थाहा नभएपछि विद्यालयमा सम्पर्क गरेर आफन्तको नम्बर पत्ता लगाएर खबर गरिएको थियो । किशोरलाई पनि घटनास्थलबाटै नियन्त्रण लिएको थियो ।”
प्रहरीले बाँकी तीन किशोर पनि घटना स्थलमा गएको थाहा पाएपछि उनीहरूलाई पनि नियन्त्रणमा लिएको उनले बताए । प्रहरीको नियन्त्रणमा रहेका सबै किशोरहरूको उमेर १७ वर्ष रहेको उनले जानकारी दिए ।
घटना हुनुभन्दा पहिला पीडित युवती र आरोपी युवक हात समातेर गएको भन्दै स्थानीय महिलाले दिएको बयानसमेत लिइएको उनले बताए । उक्त दाबीलाई पुष्टि गर्ने फुटेजहरू पनि प्रहरीले प्राप्त गरेको उनले जानकारी दिए । यद्यपि सबै रिपोर्ट आएपछि घटनाका बारेमा थप स्पष्ट हुने डीएसपी थापाले बताए ।
पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ १६:२६
