close

टाउको जोडिएको जुम्ल्याहा दिदीबहिनी ‘सीमा-गीता’ वास्तविक होइनन्, एआई भिडिओ बनाई टिकटकमा भाइरल

टेकपाना टेकपाना

फागुन ३०, २०८२ १२:५७

टाउको जोडिएको जुम्ल्याहा दिदीबहिनी ‘सीमा-गीता’ वास्तविक होइनन्, एआई भिडिओ बनाई टिकटकमा भाइरल

काठमाडौँ । टाउको दुई ओटा र शरीर एउटा भएको जुम्ल्याहा दिदी-बहिनीको टिकटक अकाउन्ट भाइरल भएको छ । ‘seemaandgeetatwins’ युजरनेम रहेको ‘सीमा_गीता_जुम्ल्याहा’ नामको टिकटक अकाउन्ट भाइरल भइरहेको हो । 

उक्त टिकटक अकाउन्टबाट दुई ओटा टाउको भएका दिदी-बहिनीले दैनिक क्रियाकलाप गरिरहेको, नृत्य गरेको, बाल्यकालका तस्बिर र भिडिओहरू शेयर गरिएको छ । ती भिडिओहरूमा अन्य प्रयोगकर्ताले ‘तपाईँहरू रियल नै हो ?’ भन्दै प्रश्न गरेका छन् । 

कतिपय प्रयोगकर्ताले “घर कता हो?, खाना एक जनाले खाँदा पुग्छ कि दुवै जनाले खानुपर्छ ? दुवै जना एकै पटक निदाउन सक्नुहुन्छ ?” लगायतका प्रश्न सोधेका छन् । केही प्रयोगकर्ताले भने दुई टाउको भएका दिदी-बहिनीलाई वास्तवमै एक पटक भेट्न मन भएको बताइरहेका छन् ।  केही प्रयोगकर्ताले चाहिँ सुरुमा उक्त अकाउन्ट ‘फेक’ सोचेको तर बाल्यकालदेखि कै तस्बिरहरू राखेकाले वास्तविकमै दिदी-बहिनी हुन् भनेर विश्वास गरेको उल्लेख गरेका छन् । 

भाइरल दिदी-बहिनीको उक्त टिकटक अकाउन्टका बारेमा टेकपानाका पाठक तथा दर्शकहरूले मेसेज र मेन्सन गरेर समेत वास्तविकता पत्ता लगाउन अनुरोध गरेका छन् । 

यो टिकटक अकाउन्टलाई ४८ हजार ५०० भन्दा धेरैले फलो गरेका छन् । सात लाख २५ हजारभन्दा धेरै लाइक प्राप्त गरेको छ । उक्त टिकटक अकाउन्टको बायोमा लेखिएको छ, “सात दिनमा दुई करोड भ्युज”। 

उक्त अकाउन्टबाट शुक्रबार (१३ मार्च) दिउँसोसम्म २६ ओटा भिडिओ सार्वजनिक भएकोमा नौ ओटा भिडिओमा मिलियन बढी भ्युज छ । 

अकाउन्टमा सबैभन्दा पुरानो भिडिओ १० फेब्रुअरी २०२६ मा सार्वजनिक भएको देख्न सकिन्छ । भिडिओमा सीमा र गीता नामका दिदी बहिनीले आफ्नो परिचय दिँदै टिकटक अकाउन्ट फलो गर्न आग्रह गरेका छन् । तर भिडिओमा साउन्ड ग्लिच भएको छ । सीमाको आवाज गीताको जस्तो त कहिले गीताको आवाज सीमाको जस्तो आएको उक्त भिडिओमा सुन्न सकिन्छ । 

हामीले उक्त भिडिओलाई एआई डिटेक्सन टुल ‘हाइभमोडेरेसन’ मा राखेर हेर्दा उक्त भिडिओ ९९.९ प्रतिशत एआई निर्मित रहेको देखाएको छ । 

सोही अकाउन्टबाट सीमा र गीताको बाल्यकालका तस्बिर र भिडिओ भन्दै विभिन्न तस्बिर र भिडिओ राखिएका छन् । त्यसैमध्ये महिलाले दुई टाउको भएको शीशुलाई लिएर विदेशी महिलासँग तस्बिर खिचिरहेको देखिने भिडिओ र तस्बिर समेत उक्त अकाउन्टबाट सार्वजनिक भएको छ । सो भिडिओको सुरुवातमा नै स्मार्टफोनबाट भिडिओ खिच्न लागेको जस्तो क्लिप देखिएको छ । प्रयोगकर्ताहरूले ‘त्यति पहिला पनि स्मार्टफोन थियो र?’ भन्दै प्रश्न गरेका छन् । 

हामीले उक्त तस्बिरहरू पनि एआई रहे/नरहेको जाँच गर्‍यौँ । ती तस्बिरहरू पनि ९९ प्रतिशत एआई निर्मित रहेको निष्कर्ष निस्कियो ।  

बाल्यकालको नृत्य भन्दै ‘लहनाले जुरायो कि’ गीतमा नृत्य गरेको भिडि‌ओ सार्वजनिक भएको छ । सो भिडिओलाई हाइभमोडेरेसनमा राखेर जाँच गर्‍यौ । भिडिओ एआई निर्मित रहेको सम्भावना ८४.७ प्रतिशत देखियो ।   


हामीले अन्य भिडिओहरू पनि एआई निर्मित रहे/नरहेको जाँच गर्‍यौँ । उक्त अकाउन्टबाट हालसम्म सार्वजनिक भएका सबै सामग्रीहरू एआई निर्मित रहेको देखियो । 

किन बनाइन्छ यस्तो भिडिओ ?

वास्तविकताभन्दा फरक देखिने कन्टेन्टप्रति प्रयोगकर्ताहरूको जिज्ञासा बढी हुन्छ । दुई टाउको भएका मानिस आफैँमा असामान्य र पत्याउन गाह्रो विषय हो । यस्ता रोचक विषयलाई कन्टेन्ट बनाएर प्रस्तुत गर्दा मानिसहरूलाई कन्टेन्टको बारेमा बुझ्न, लाइक र कमेन्ट गर्न मन लाग्छ । धेरै मानिसहरू यस्ता कन्टेन्टमा आकर्षित हुँदा यस्ता भिडिओहरू छिटो भाइरल हुने सम्भावना हुन्छ ।

यस्ता भिडिओ बनाउन धेरै मेहनत पनि गर्नु पर्दैन । क्यामेरा, भिडिओ एडिटिङको सीप र कलाकार बिना नै एआई टुलहरूको प्रयोग गरेर छोटो समयमै धेरै तस्बिर वा भिडिओ तयार पार्न सकिन्छ । यसरी समय र मेहनत कम गरेर बनाएको भिडि‌ओ भाइरल भएपछि पैसा कमाउने बाटोको रूपमा समेत प्रयोग गर्ने गरेका छन् । 

ब्रान्ड प्रमोसन, विज्ञापन गरेर वा सोसल मिडिया मनिटाइजेसनबाट पैसा कमाउनका लागि पनि यस्तो भिडिओ बनाउने ट्रेन्ड बढ्दै गएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०८२ १३:१२