close

गुगल म्याप्समा दशककै ठुलो अपडेट, आस्क म्याप्स र इमर्सिभ नेभिगेसन मार्फत हुनेछ झनै सहज

टेकपाना टेकपाना

चैत १, २०८२ ११:१४

गुगल म्याप्समा दशककै ठुलो अपडेट, आस्क म्याप्स र इमर्सिभ नेभिगेसन मार्फत हुनेछ झनै सहज

 

काठमाडौँ । गुगल म्याप्स्समा पछिल्लो एक दशक यताकै सबैभन्दा महत्त्वपूर्ण अपडेट सार्वजनिक भएको छ । जेमनाई आर्टिफिसियल इन्टेलिजेन्स मोडेलद्वारा सञ्चालित यो अपडेटले सवारी चालक र पैदल यात्रीका लागि नेभिगेसन अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

यो अपडेटमा 'आस्क म्याप्स' (Ask Maps) र 'इमर्सिभ नेभिगेसन' (Immersive Navigation) गरी दुई ओटा महत्त्वपूर्ण फिचर रहेका छन् ।गुगलले 'आस्क म्याप्स' मार्फत प्रयोगकर्ताहरूका लागि एक नयाँ संवाद गर्न मिल्ने विन्डो राखेको छ । यसमा प्रयोगकर्ताहरूले कुनै पनि ठाउँका बारेमा जटिल र वास्तविक प्रश्नहरू सोध्न सक्नेछन्, जुन यसअघि सम्भव थिएन ।

उदाहरणका लागि, "मेरो फोनको ब्याट्री सकिन लागेको छ, कफीका लागि लामो लाइनमा नबसी फोन चार्ज गर्न मिल्ने ठाउँ कहाँ छ ?" जस्ता प्रश्नको उत्तरमा गुगलले नजिकैको पुस्तकालय सुझाउन सक्छ ।

यो फिचरले ५० करोडभन्दा बढी योगदानकर्ताहरूबाट प्राप्त ३० करोडभन्दा बढी स्थानहरूको विवरण र रिभ्युलाई विश्लेषण गर्छ । यो सेवा प्रयोगकर्ताको सर्च हिस्ट्री र सेभ गरिएका स्थानहरूका आधारमा पर्सनलाइज्ड (व्यक्तिगत) हुन्छ । यसले साथीहरूसँग भेट्नका लागि उपयुक्त 'कोजी' भिजिटिङ स्पट खोज्नेदेखि लिएर एकै ट्यापमा रेस्टुरेन्ट बुकिङ गर्नेसम्मका सुविधा दिन्छ ।

त्यस्तै सवारी चालकहरूका लागि ल्याइएको इमर्सिभ नेभिगेसनले ड्राइभिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ । यससँगै अब म्यापमा परम्परागत टुडी (2D) दृश्यको सट्टा भवनहरू, ओभरपास र भू-बनोटको जीवन्त थ्रिडी दृश्य देखिनेछ । यसले गर्दा चालकहरूलाई अपरिचित सडकमा आफू कहाँ छु भन्ने ठम्याउन सजिलो हुनेछ ।

यो नयाँ फिचरले अप्ठ्यारो मोड वा लेन परिवर्तन गर्नुअघि म्यापले स्वतः जुम गर्नेछ र अगाडिको बाटो स्पष्ट देख्नका लागि भवनहरूलाई पारदर्शी बनाइदिनेछ ।

जेमनाई एआईले स्ट्रिट भ्यू र हवाई तस्बिरहरू विश्लेषण गरी सडकका लेनहरू, क्रसवाक, ट्राफिक लाइट र स्टप साइनहरूलाई स्पष्ट रूपमा हाइलाइट गर्छ । भ्वाइस गाइडेन्स अब थप प्राकृतिक र साथीले बाटो देखाए जस्तो सुनिनेछ । जस्तै: 'यो एक्जिट कटेपछि अर्कोबाट बायाँ मोडिनुहोस् ।'

गुगल म्याप्सले अब वैकल्पिक मार्गहरू बीचको तुलना पनि देखाउनेछ । जस्तै कुनै बाटो छिटो भए पनि टोल शुल्क लाग्ने वा कुनै बाटो अलि लामो भए पनि ट्राफिक कम हुने जस्ता जानकारी चालकले पाउनेछन् । म्यापले प्रति सेकेन्ड ५० लाख ट्राफिक अपडेट र दैनिक १ करोड प्रयोगकर्ताका रिपोर्टहरू समावेश गर्दछ ।

यात्रा सुरु गर्नुअघि गन्तव्यको स्ट्रिट भ्यूमार्फत पार्किङ गर्ने ठाउँ र भवनको मुख्य प्रवेशद्वार कुन हो भन्ने समेत पहिले नै हेर्न सकिने सुविधा थपिएको छ ।गुगलका अनुसार आस्क म्याप्स हाल अमेरिका र भारतमा एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूका लागि उपलब्ध हुन थालेको छ ।

इमर्सिभ नेभिगेसन भने अमेरिकामा एन्ड्रोइड, आईओएस, एन्ड्रोइड अटो, एप्पल कारप्ले र गुगल बिल्ट-इन भएका कारहरूमा उपलब्ध हुन थालेको छ । आगामी महिनाहरूमा यी सुविधाहरू विश्वका अन्य क्षेत्रहरूमा पनि विस्तार हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: चैत १, २०८२ ११:१४