आफ्नो मृत्युको हल्ला फैलिएपछि इजरायली प्रधानमन्त्री कफी पिउँदै हाँस्दै देखिए, भिडिओ भाइरल
चैत २, २०८२ २०:१४
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मृत्यु भएको भन्दै फैलिएका हल्लाहरूको खण्डन गरेका छन् । इरानी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनको मृत्यु भएको दाबीसहितका खबर भाइरल भएपछि नेतान्याहूले आइतबार एक भिडिओ पोस्ट गर्दै आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका हुन् ।
नेतान्याहूले आफ्नो आधिकारिक टेलिग्राम र एक्स अकाउन्टमार्फत जेरुसेलम नजिकैको एक कफी सपमा कुरा गरिरहेको जस्तो देखिने भिडिओ राखेका छन् । यद्यपि उक्त भिडिओ वास्तविक नभएको भन्दै उनको आलोचना भइरहेको छ ।
भिडिओमा उनले कफी पिउँदै आफ्ना सहयोगीहरूसँग कुरा गरिरहेको देखिन्छ । सहयोगीले सामाजिक सञ्जालमा फैलिएको उनको मृत्युको हल्लाबारे प्रश्न गर्दा नेतान्याहूले हिब्रू भाषामा व्यङ्ग्य गर्दै भनेका छन्, “म कफीको लागि मरिहत्ते गर्छु र आफ्नो देशका नागरिकलाई पनि उत्तिकै माया गर्छु ।”
אומרים שאני מה? צפו >> pic.twitter.com/ijHPkM3ZHZ
— Benjamin Netanyahu - בנימין נתניהו (@netanyahu) March 15, 2026
केही समयदेखि सामाजिक सञ्जालमा नेतान्याहूको पछिल्लो भिडिओ एआई प्रयोग गरेर बनाइएको र उनी जीवित नरहेको दाबी गरिएको थियो । एउटा भिडिओमा नेतान्याहूको हातमा छ ओटा औंला देखिएको भन्दै त्यसलाई एआई फिजिक्स ग्लिचको रूपमा प्रचार गरिएको थियो ।
यसको जवाफमा नयाँ भिडिओमा नेतान्याहूले क्यामेराअगाडि आफ्ना दुवै हातका १० ओटै औंला देखाउँदै आफू वास्तविक रूपमै उपस्थित रहेको संकेत गरेका छन् । उनले आफूविरुद्ध फैलाइएका दाबीहरूलाई हाँसेर उडाएका छन् । एक्समा उनले राखेको भिडिओमा मात्रै करिब ८ करोड भ्युज आइसकेको छ ।
अचम्मको कुरा त के छ भने, एलन मस्कको एक्स प्लेटफर्मकै एआई च्याटबट ग्रोकले भने यो भिडिओलाई एआई जेनरेटेड वा डिपफेक भनेर लेबल गरिदिएको छ । प्रयोगकर्ताहरूको प्रश्नको जवाफ दिँदै ग्रोकले भनेको छ, “यो शतप्रतिशत एआई निर्मित हो, यस्तो वास्तविक घटना कतै भएको छैन ।”
It's AI-generated. This is a deepfake of Benjamin Netanyahu casually in a coffee shop, talking about Iran/Lebanon ops and protected areas while sipping coffee—nothing like this real event exists. The original post explicitly calls it advanced unreleased AI.
— Grok (@grok) March 15, 2026
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि भिडिओमा केही प्राविधिक त्रुटिहरू रहेको दाबी गरेका छन् । भिडिओ पोस्टमा कमेन्ट गर्ने धेरै प्रयोगकर्ताले यो एआई जेनेरेटेड भएको शंका गरेका छन् । भिडिओमा नेतन्याहूले कफी पिएको देखिन्छ, तर कफीको मात्रा घट्दैन र फिँज पनि उस्तै रहन्छ । यसलाई लिएर धेरैले एआई सिर्जित हुनसक्ने भन्दै कमेन्ट गरेका छन् । ती प्रयोगकर्ताले एआईमार्फत फोटोलाई भिडिओ बनाइएको दाबी गरेका छन् ।
यसपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जालमा फैलिएका हल्लालाई भ्रामक भनेको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यी सबै झुटा समाचार हुन्, प्रधानमन्त्री पूर्ण रूपमा ठीक हुनुहुन्छ ।”
साथै ‘द साताफ’ नामक कफी सपले पनि नेतान्याहू त्यहाँ आएको तस्बिर र सीसीटिभी फुटेज सार्वजनिक गर्दै उनको भ्रमणको पुष्टि गरेको छ । ‘द साताफ’ ले इन्स्टाग्राममा राखेको फोटोमा नेतान्याहू हाँस्दै कफी पिएको देख्न सकिन्छ । यद्यपि, आलोचकहरूले ती तस्बिरहरू पुराना हुन सक्ने भन्दै अझै आशङ्का गरिरहेका छन् ।
इरान र इजरायलबिच युद्धको स्थिति सिर्जना भएपछि नेतान्याहूको सार्वजनिक उपस्थिति कम भएको छ । यही मौका छोपेर इरानी राज्य सञ्चालित सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेतान्याहूको हत्या भएको अफवाह फैलाएका थिए । इरानको अर्धसैनिक बल ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ ले समेत नेतान्याहूलाई खोजेर मार्ने धम्की दिएको खबर बाहिरिएको थियो ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा ।
पछिल्लो अध्यावधिक: चैत २, २०८२ २१:४०
