ध्यान तान्न र पैसा कमाउन प्रयोगकर्ताको सुरक्षामा खेलबाड गर्दै सामाजिक सञ्जाल कम्पनीहरू !
चैत ३, २०८२ ०:१५
काठमाडाैँ । विश्वका चर्चित सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको ध्यान तान्न र नाफा कमाउन जानाजानी हानिकारक सामग्रीहरूलाई प्रश्रय दिएको सनसनीपूर्ण खुलासा भएको छ । बीबीसीसँग कुरा गर्दै एक दर्जन बढी ह्विसलब्लोअर र कम्पनीका पूर्व कर्मचारीहरूले मेटा (फेसबुक/इन्स्टाग्राम) र टिकटकले सुरक्षाभन्दा बढी व्यापारलाई प्राथमिकता दिएको दाबी गरेका हुन् ।
मेटाका एक इन्जिनियरका अनुसार टिकटकको तीव्र वृद्धिसँग प्रतिस्पर्धा गर्न र कम्पनीको ओरालो लागेको शेयर मूल्य सुधार्न व्यवस्थापनले 'बर्डरलाइन' हानिकारक सामग्रीहरूलाई फिडमा स्थान दिन निर्देशन दिएको थियो । यी सामग्रीहरूमा महिला विद्वेष (Misogyny), षडयन्त्रका सिद्धान्त (Conspiracy theories) र घृणास्पद अभिव्यक्तिहरू पर्दछन् । जुन प्राविधिक रूपमा गैरकानुनी नभए पनि प्रयोगकर्ताका लागि अत्यन्तै हानिकारक मानिन्छन् ।
मेटाका वरिष्ठ अनुसन्धानकर्ता म्याट मोटिलले इन्स्टाग्रामको ‘रिल्स’ फिचर पर्याप्त सुरक्षा उपायबिना नै सन् २०२० मा सुरु गरिएको बताए । आन्तरिक अनुसन्धानका अनुसार इन्स्टाग्रामको अन्य फिडको तुलनामा रिल्समा दुर्व्यवहार, उत्पीडन र घृणास्पद अभिव्यक्तिको दर निकै उच्च छ ।
टिकटकका एक कर्मचारीले कम्पनीको आन्तरिक प्रणालीमा बालबालिकामाथि हुने यौन शोषण र ब्ल्याकमेलिङका गम्भीर उजुरीभन्दा राजनीतिज्ञहरूसँग जोडिएका सामान्य उजुरीहरूलाई उच्च प्राथमिकतामा राख्ने गरिएको प्रमाण बीबीसीलाई देखाएका छन् । सरकारहरूले लगाउन सक्ने प्रतिबन्धबाट बच्न र राजनीतिक सम्बन्ध बलियो बनाउन कम्पनीले यस्तो नीति लिएको दाबी गरिएको छ ।
बालबालिकाको सुरक्षाको उजुरी हेर्ने टोलीका ती सदस्यले अभिभावकहरूलाई सुझाव दिँदै भनेका छन्, “आफ्ना बालबालिकालाई टिकटकबाट सकेसम्म टाढा राख्नुहोस्, यसलाई डिलिट गरिदिनुहोस् ।”
बीबीसीसँगको कुराकानीमा १९ वर्षीय क्यालमले आफू १४ वर्षको हुँदा सामाजिक सञ्जालको एल्गोरिदमका कारण चरमपन्थी बनेको बताए । उनलाई फिडमा देखाइने हिंसात्मक र घृणास्पद सामग्रीले बिस्तारै जातीय र लैंगिक विद्वेषतर्फ धकेलेको उनको अनुभव छ । बेलायतका आतंकवाद विरोधी विशेषज्ञहरूले पनि हालैका महिनाहरूमा सामाजिक सञ्जालमा जातिवादी र हिंसात्मक पोस्टहरू सामान्य बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
यी गम्भीर आरोपहरूको खण्डन गर्दै मेटाले नाफाका लागि जानाजानी हानिकारक सामग्री फैलाएको कुरा गलत भएको दाबी गरेको छ । मेटाले पछिल्लो समय बालबालिकाको सुरक्षाका लागि 'टिन एकाउन्ट' जस्ता नयाँ सुविधाहरू ल्याएको बताएको छ ।
यस्तै, टिकटकले ह्विसलब्लोअरका दाबीलाई मनगढन्ते भन्दै आफूले हानिकारक सामग्री रोक्न प्रविधिमा ठूलो लगानी गरेको दाबी गरेको छ । टिकटकले बालबालिकाको सुरक्षाका लागि ५० भन्दा बढी सुरक्षा फिचरहरू स्वचालित रूपमा सक्रिय हुने व्यवस्था गरेको स्पष्ट पारेको छ ।
यद्यपि, कम्पनीका पूर्व कर्मचारीहरूका अनुसार एल्गोरिदम यस्तो ‘ब्ल्याक बक्स’ हो, जसमा इन्जिनियरहरूको समेत पूर्ण नियन्त्रण हुँदैन र यसले प्रयोगकर्ताको मानसिक स्वास्थ्यभन्दा बढी कम्पनीको संलग्नता र पैसालाई मात्र पछ्याउँछ ।
-बीबीसीको सहयोगमा
पछिल्लो अध्यावधिक: चैत ३, २०८२ ०:२९
