समर्थकलाई सभापति लामिछानेको अनुरोध- ‘सामाजिक सञ्जालमा असहिष्णु नबन्नू, गालीगलौज नगर्नू’
चैत ४, २०८२ १७:३७
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना समर्थकहरूलाई सामाजिक सञ्जालमा संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । रास्वपा समर्थकहरू असहिष्णु भएको र गालीगलौजमा उत्रने गरेको छवि बनेको भन्दै उनले यस्तो व्यवहार सुधार्न अनुरोध गरेका हुन् ।
ललितपुरमा आयोजित पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै लामिछानेले भने, “रास्वपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गालीगलौजमा उत्रन्छन्, व्यक्तिगत गालीगलौज गर्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन भन्ने किसिमको एउटा छवि बनेको छ। अब त्यसबाट बाहिर निस्कनुपर्छ ।”
पार्टीले निरन्तर राजनीतिक आक्रमण झेल्नुपरेका कारण आफ्ना सदस्य र समर्थकहरूलाई पर्याप्त प्रशिक्षित गर्न नपाएको लामिछानेको तर्क छ । तर, समर्थकहरूको व्यक्तिगत आचरणले नै समाजमा उनीहरूको छवि झल्काउने भन्दै उनले सामाजिक र सार्वजनिक प्लेटटफर्महरूमा जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गरे ।
सभापति लामिछानेले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी बोल्दा त्यसले वैदेशिक सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सचेत गराए । उनले भने, “हामीले बोल्ने हरेक शब्दले मुलुकको छवि र सम्बन्धमा असर पार्छ, त्यसैले वैदेशिक सम्बन्ध जस्ता संवेदनशील विषयमा सोचेर मात्र जिम्मेवार अभिव्यक्ति दिनुहोला ।”
पछिल्लो अध्यावधिक: चैत ४, २०८२ १७:५४
