close

‘२ लाख ७१ हजारको झोला’ भन्दै भाइरल भएपछि रास्वपा सांसद खत्री भन्छन्- ‘२८ सयमा किनेको हुँ’

टेकपाना टेकपाना

चैत ५, २०८२ २२:५७

‘२ लाख ७१ हजारको झोला’ भन्दै भाइरल भएपछि रास्वपा सांसद खत्री भन्छन्- ‘२८ सयमा किनेको हुँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद राजीव खत्रीले आफूले बोकेको झोलाको मूल्यलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाको विषयमा स्पष्टीकरण दिएका छन् । रास्वपाले हालै ललितपुर स्थित रोयल टुलिप होटलमा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा खत्रीले एउटा झोला बोकेका थिए ।

सोही झोला बोकेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको विलासी जीवनशैलीलाई लिएर आलोचना सुरु भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त झोला प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ‘लुई भिटन’ (Louis Vuitton) को भएको र यसको मूल्य १ हजार ८ सय ३० अमेरिकी डलर (करिब दुई लाख ७१ हजार ९२२ रुपैयाँ) पर्ने दाबी गरेका थिए ।

आफ्नो झोलालाई लिएर चर्को आलोचना भएपछि सांसद खत्रीले बिहीबार सामाजिक सञ्जालमार्फत त्यसको वास्तविकता खुलाएका हुन् । उनले उक्त झोला आफूले सन् २०२० मा मात्र दुई हजार ८०० रुपैयाँमा किनेको दाबी गरेका छन् ।

व्यङ्ग्यात्मक शैलीमा स्पष्टीकरण दिँदै खत्रीले लेखेका छन्, “यो मैले बोकेको ब्याग अन्तर्राष्ट्रिय बजारमा १८३० अमेरिकी डलर अर्थात् दुई लाख ७१ हजार ९२२ रुपैयाँ पर्छ रे ! लौन, म २८ हजारमै यो ब्याग दिन्छु कसैले लिन्छ भने । किनकि यो ब्याग मैले २०२० मा जम्मा २८ सय रुपैयाँमा किनेको हो ।”

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाँदा सामान्य झोला बोकेका सांसदलाई महँगो ब्राण्डसँग जोडेर प्रचार गरिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । अहिले उनको यो स्पष्टीकरणले सामाजिक सञ्जालमा थप चर्चा पाएको छ ।

पछिल्लो अध्यावधिक: चैत ५, २०८२ २२:५७