लिलामीमा रहेका घर-जग्गा खोज्दै हुनुहुन्छ ? एनआईसी एसियाको पोर्टलमा छ फोटो-लोकेसनसहितको विवरण
चैत ७, २०८२ ९:३१
काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग, गैर-बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई व्यवस्थित बनाउन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
लिलाम प्रक्रियालाई आधुनिक, पारदर्शी र सहज बनाउँदै ग्राहकलाई डिजिटल माध्यमबाटै सहभागी गराउने उद्देश्यले बैंकले यो नयाँ प्लेटफर्मको सुरुवात गरेको हो । इच्छुक खरिदकर्ताले बैंकको आधिकारिक पोर्टलमा गएर वा पत्रपत्रिकामा प्रकाशित लिलाम बिक्रीसम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी सम्पत्तिको सम्पूर्ण विवरण आफ्नो मोबाइल वा कम्प्युटरबाटै हेर्न सक्नेछन् ।
यस पोर्टलमा लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर र क्षेत्रफल मात्र नभई ती सम्पत्तिको वास्तविक तस्बिर, नक्सा र गुगल म्यापसहितको लोकेसनसमेत उपलब्ध हुन्छ । यसबाट खरिदकर्तालाई सम्पत्ति पहिचान गर्न र भौगोलिक अवस्था बुझ्न सहज हुने बैंकले जनाएको छ ।
सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले थप जानकारी लिन चाहेमा सोही पोर्टलमा रहेको 'मेसेज बक्स' मा आफ्नो नाम, ईमेल, मोबाइल नम्बर र ठेगाना छाड्न सक्ने व्यवस्था समेत मिलाइएको छ । यस सुविधाले गर्दा ग्राहकले बैंकको कार्यालयमै उपस्थित नभई प्रारम्भिक सोधपुछ र समन्वय गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: चैत ७, २०८२ ९:३१
