close

शङ्खमूलबाट दिउँसै तामाको गाग्री चोरेको भिडिओ भाइरल, कहिलेको हो घटना ?

टेकपाना टेकपाना

चैत ८, २०८२ १८:७

शङ्खमूलबाट दिउँसै तामाको गाग्री चोरेको भिडिओ भाइरल, कहिलेको हो घटना ?

काठमाडौँ । केही दिन यता सामाजिक सञ्जालमा एक व्यक्तिले सडक छेउको होटेल बाहिर सजावटका लागि राखिएको तामाको गाग्री चोरेर स्कुटरमा हुइँकिएको देखिने सीसीटीभी फुटेज भाइरल भइरहेको छ । काठमाडौँमा गाग्री चोरहरूको बिगबिगी भएको भन्दै प्रयोगकर्ताहरूले उक्त भिडिओमाथि प्रतिक्रिया जनाइरहेका छन् । 

भाइरल भिडिओमा कालो स्कुटर समेत देखिएको छ । जसको नम्बर प्लेटमा बा ८४ प १८४५ रहेको स्पष्ट देखिन्छ । कतिपय प्रयोगकर्ताले भिडिओ फुटेज र त्यसको स्क्रिनशट लिएर ‘क्या चोर बनेगा रे तु’ भन्दै अनेकौँ मिम समेत बनाइरहेका छन् । 

उक्त भाइरल सीसीटीभी भिडिओ भने काठमाडौँको शङ्खमूल चोकमा रहेको ‘होटेल ए वन प्यालेस’ अगाडिको रहेको पाइएको छ । होटेलका सञ्चालक प्रदीप श्रेष्ठका अनुसार उक्त घटना २९ फागुनको हो ।

चोरी पछि आफूहरूले प्रहरी वृत्त, नयाँ बानेश्वरमा उजुरी दिएको सञ्चालक श्रेष्ठले बताए । प्रहरीलाई खबर गर्दा खासै वास्ता नभएपछि सामाजिक सञ्जालमा उक्त भिडिओ पोस्ट गरेको सुनाउँदै उनले भने, “चोरी भएपछि प्रहरीलाई खबर गरेका थियौँ । तर सानोतिनो कुरा प्रहरीले खासै वास्ता नगर्ने रहेछ । त्यसपछि हामीले फेसबुकमा भिडिओ  राखेका हौँ । तर, नपत्याउँदो तरिकाले भाइरल भयो ।” 

उनका अनुसार भीम श्रेष्ठ नामक फेसबुक अकाउन्टबाट २० मार्च (६ चैत) दिउँसो गाग्री चोरी भएको भिडिओ सार्वजनिक गरिएको थियो । उक्त भिडि‌ओको क्याप्सनमा लेखिएको छ, “चोर देखि साबधान। बा ८४ प १८४५ नम्बर को होण्डा एभिएटर स्कुटर प्रयोग कर्ताले बिहान १०:४० बजे नै यस्तो हर्कत हेर्नुस त। यदि कोहि कसैले यो चोर लाइ चिन्नु हुन्छ भने तलको नम्बरमा वा नजिक को प्रहरि कार्यलयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।साथै सक्दो शेयर पनि गरिदिनु होला र यो चोर पत्ता लगाउन सहज होस।” 

उक्त भिडिओमा स्कुटर चालक गेट नजिकै स्कुटर लिएर पुगेको देख्न सकिन्छ । त्यसपछि उनले दायाँबायाँ हेरेर ढोका छेउमा सजाउन राखिएको फूल र पानी सहितको तामाको गाग्री नै स्कुटरमा राखेर हुइँकिएका छन् । 

श्रेष्ठको उक्त भिडिओलाई दुई लाख ६९ हजार भन्दा धेरै पटक हेरिएको छ भने ११ सयभन्दा धेरैले रियाक्ट गरेका छन् । सोही भिडिओलाई डाउनलोड गरेर अन्य कयौँ प्रयोगकर्ताहरूले पुन: पोस्ट गरेका छन् । 

गाग्री चोरी भएको भिडिओ भाइरल भएपछि अन्य धेरै व्यवसायीले आफूलाई सम्पर्क गरेको सञ्चालक श्रेष्ठले बताए । आफ्नो पसल अगाडि राखेको गाग्री सहित विभिन्न सामग्री, मुर्तिहरू र मोबाइलसमेत चोरी भएको भन्दै कल आइरहेको उनले सुनाए ।  

“कतिले त ह्वाट्सएपमा त्यही स्कुटरको भिडिओ समेत पठाइराख्नु भएको रहेछ । तर अहिलेसम्म चोरी गर्ने को हो भनेर थाहा भएको छैन,” उनले थपे, “हामीले यातायात कार्यालयमा गएर ढड्डा पनि हेर्‍यौँ । यो स्कुटर कुनै व्यक्तिको नाममा नभइ कम्पनीको नाममा दर्ता गरिएको रहेछ, तर ढड्डामा कम्पनीको नाम स्पष्ट बुझिँदैन । २०७६ साल देखि त कर पनि नतिरेको भन्ने देखियो ।”

चोरीको विकृति बढेकाले सामाजिक सञ्जालमा उक्त भिडिओ शेयर गरेको उनले बताए । “गाग्रीको मायाले यो भिडिओ शेयर गरेको हैन । तर, चोरी त एउटा विकृति हो । सियो चोरे पनि सुन चोरे पनि चोरी, चोरी नै हो । त्यसलाई गलत हो भन्नुपर्छ,” टेकपानासँग सञ्चालक श्रेष्ठले भने ।

प्रहरी वृत्त, नयाँ बानेश्वरका सूचना अधिकारी तथा डीएसपी राजकुमार सिंहले उक्त घटनाको विषयमा आफूलाई जानकारी नरहेको बताए । उनले भने, “यो विषयमा अहिले जानकारी भएन । उजुरी परे नपरेको बुझेर अनुसन्धान गर्छौँ ।”

पछिल्लो अध्यावधिक: चैत ८, २०८२ १८:८