close

न्युजरुममा एआईको जथाभावी प्रयोगले नैतिक संकट: रमेश लेखकलाई ‘रमेश राइटर’ बनाउनेदेखि बौद्धिक अल्छीपनासम्मका समस्या

टेकपाना टेकपाना

चैत ९, २०८२ १७:३१

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । नेपाली सञ्चारमाध्यमका न्युजरुममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र रूपमा भइरहे पनि संस्थागत नीति र मानवीय निगरानीको अभावमा पत्रकारिताको विश्वसनीयतामाथि नैतिक संकट उत्पन्न भएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक लेखनाथ पाण्डे र महेन्द्र बहुमुखी क्याम्पस, धरानका उपप्राध्यापक सोमनाथ घिमिरेले गरेको अनुसन्धानले नेपाली पत्रकारितामा एआईले ल्याएका अवसर र त्रुटिलाई सतहमा ल्याएको हो ।

करिब दुई वर्ष लगाएर तयार पारिएको यो शोधपत्र ‘स्प्रिन्जर नेचर’को ‘एसएन सोसल साइन्सेस’ जर्नलमा हालै प्रकाशित भएको छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजिज इन न्युजरुम्सः इन्भेस्टिगेटिङ नेपाली जर्नालिस्ट्स एक्सपिरियन्सेस’ शीर्षकको उक्त शोधपत्र सार्वजनिक भएपछि अनुसन्धानकर्ताले खुसी व्यक्त गर्दै लामो समयको मेहनेतले सार्थकता पाएको बताएका छन् ।

“लगभग दुई वर्षको परिश्रम, धैर्य, निरन्तरता र धेरै चरणको परिमार्जन एवं जटिल प्रकाशन प्रक्रियापछि यो अनुसन्धान प्रक्रिया र प्रकाशन सम्पन्न भएको हो,” प्रमुख अनुसन्धानकर्ता पाण्डे भन्छन्, “हाम्रो प्रयासले अन्ततः मूर्तरूप पाउँदा साँच्चै नै सन्तोष मिलेको छ ।”

अनुसन्धानकर्ता लेखनाथ पाण्डे 

यो शोधपत्र तयार पार्नका लागि काठमाडौँ उपत्यकाबाट सञ्चालित १४ प्रमुख मिडिया आउटलेट (अनलाइन, प्रिन्ट, टेलिभिजन र समाचार एजेन्सी) का २२ पत्रकार (१० रिपोर्टर, ६ डेस्क सम्पादक र ६ सम्पादक) सँग मेदेखि अगस्ट २०२४ सम्म अन्तर्वार्ता गरिएको उल्लेख छ ।

अध्ययनका अनुसार नेपाली पत्रकारले सूचना सङ्कलन, आइडियाको खोजी, अन्तर्वार्ताका प्रश्न निर्माण, समाचार सम्पादन, फ्याक्टचेकिङ, अनुवाद, ग्राफिक्स डिजाइन र सामाजिक सञ्जालमा सामाग्री सम्प्रेषण गर्न च्याटजीपीटी, गुगल जेमिनाई, बिङ, गुगल ट्रान्सलेट, क्यानभा, को-पाइलट, मिडजर्नी, ड्याली, ग्रामर्ली, रेमिनी, सिन्थेसिया, लिओनार्दो, डिप-एल जस्ता दर्जनौं एआई टुलको दैनिक प्रयोग गरिरहेका छन् ।

आर्थिक दबाब झेलिरहेका मिडिया हाउसमा एआईले ग्राफिक डिजाइनर र अनुवादकको अभाव पूर्ति गर्दै समय र स्रोतको बचत गरेको पत्रकारले स्वीकारेका छन् । 

अनुसन्धानकर्ता सोमनाथ घिमिरे

तर, एआईको सहजतासँगै न्युजरुममा ‘बौद्धिक अल्छीपना’ र लापरबाही भित्रिएको तथ्य अनुसन्धानले सतहमा ल्याएको छ । मानवीय निगरानीविना एआईको अन्धाधुन्ध प्रयोग गर्दा सञ्चारमाध्यमले पाठकको चर्को आलोचना खेप्नुपरेका दृष्टान्त अध्ययनमा समेटिएका छन् । उदाहरणका लागि एक मिडिया हाउसको डेस्क सम्पादकले नेपाली समाचारलाई च्याटजीपीटी प्रयोग गरी अङ्ग्रेजीमा अनुवाद गर्दा नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री ‘रमेश लेखक’ को नाम हुबहु अनुवाद भएर ‘रमेश राइटर’ बन्न पुग्यो ।

 

क्रेडिट: ©️[लेखनाथ पाण्डे] [सोमनाथ घिमिरे] (२०२६), स्प्रिन्जर नेचर

क्रेडिट: ©️[लेखनाथ पाण्डे] [सोमनाथ घिमिरे] (२०२६), स्प्रिन्जर नेचर

सम्पादकले उक्त त्रुटि जाँच नै नगरी प्रकाशित गर्दा मिडियाले बदनामी खेप्नुपरेको थियो । त्यस्तै अर्को एक घटनामा विदेशी समाचार अनुवाद गर्दा अङ्ग्रेजीको ‘ह्वाइट हाउस’ (अमेरिकी राष्ट्रपतिको कार्यालय) लाई एआईले ‘सेतो घर’ भनेर शाब्दिक अनुवाद गरिदियो र त्यही रूपमा समाचार सम्प्रेषण हुँदा सञ्चारमाध्यमको विश्वसनीयतामाथि नै प्रश्न उठ्यो । 

नेपाली भाषा र व्याकरण राम्रोसँग नबुझ्ने एआईको भर पर्दा यस्ता भ्रामक समाचार प्रवाह भइरहेको पाइएको छ । अध्ययनले ‘पारदर्शिताको पूर्ण अभाव’ हुने अवस्थालाई पनि दर्साएको छ । अध्ययनमा सहभागी १४ मध्ये एउटा मिडिया हाउसबाहेक कसैसँग पनि एआई प्रयोगसम्बन्धी कुनै नीति वा निर्देशिका थिएन । मिडिया हाउसले एआईको प्रिमियम भर्सनमा लगानी नगरेका कारण पत्रकार नि:शुल्क पाइने टुल आफ्नै व्यक्तिगत जोखिममा चलाउन बाध्य छन् । 

क्रेडिट: ©️[लेखनाथ पाण्डे] [सोमनाथ घिमिरे] (२०२६), स्प्रिन्जर नेचर

ग्राफिक्स र तस्बिरमा बाहेक समाचार लेखन र अनुवादमा एआई प्रयोग गरिएको कुरा संस्थाको कारबाही वा पाठकको आलोचनाको डरले कैयौं पत्रकारले गोप्य राख्ने गरेका छन् । त्यस्तै कतिपय सम्पादकले रिपोर्टरले लेखेको समाचार आफैंले मेहनत गरेर जाँच्नुको सट्टा त्यो समाचार एआईले लेखेको हो वा होइन भनेर पत्ता लगाउन ‘जीपीटीजिरो’ जस्ता अर्को एआई प्लाटफर्मकै भर पर्ने गरेका छन् । यसले न्युजरुमको गेटकिपिङ (सम्पादकीय परीक्षण) प्रक्रियालाई नै धरापमा पारेको  अनुसन्धानकर्ताले औंल्याएका छन् ।

अबको लक्ष्य र अगाडिको बाटोबारे स्पष्ट खाका कोर्दै अनुसन्धानले एआई प्रविधिलाई निषेध गर्नुको सट्टा यसको जिम्मेवार र नैतिक प्रयोगमा जोड दिएको छ । सञ्चारमाध्यम र सरोकारवालाले समयमै ध्यान नदिए यसले नेपाली पत्रकारिताको जग नै कमजोर बनाउने चेतावनी अनुसन्धानकर्ताले दिएका छन् । यसको समाधानका लागि ‘प्रेस काउन्सिल नेपाल’ लगायतका नियमनकारी निकाय र मिडिया सञ्चालकले तत्काल एआई प्रयोगसम्बन्धी स्पष्ट नीति र निर्देशिका लागू गर्नुपर्ने सुझाव दिइएको छ ।

त्यसैगरी सम्पादकीय नेतृत्वले एआईले उत्पादन गरेका सामग्रीको अनिवार्य रूपमा मानवीय परीक्षण गर्नुपर्ने, समाचारमा एआई प्रयोग गरिएको भए त्यसको स्रोत खुलाएर पारदर्शिता अपनाउनुपर्ने र पत्रकारलाई एआईको क्षमता तथा जोखिमबारे संस्थागत रूपमै तालिम र साक्षरता प्रदान गर्नुपर्ने कुरामा अध्ययनले जोड दिएको छ ।

एआई जतिसुकै परिष्कृत भए पनि पत्रकारिताको मूल मर्म, आलोचनात्मक चेत, स्थलगत रिपोर्टिङ र मानवीय सिर्जनशीलतालाई यसले विस्थापित गर्न नसक्ने यथार्थलाई मिडिया उद्योगले आत्मसात् गर्नुपर्ने निष्कर्ष यस अनुसन्धानले निकालेको छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८२ १५:३१