close

इरान र इजरायल-अमेरिका युद्धले स्लो हुनसक्छ नेपालको इन्टरनेट सेवा, यस्तो छ सम्भावित परिदृश्य

टेकपाना टेकपाना

चैत १०, २०८२ १३:२५

इरान र इजरायल-अमेरिका युद्धले स्लो हुनसक्छ नेपालको इन्टरनेट सेवा, यस्तो छ सम्भावित परिदृश्य

काठमाडौँ । इरान र अमेरिका–इजरायलबिच बढ्दो सैन्य तनावले विश्वको ऊर्जा बजारमा मात्र नभई डिजिटल जगतमा पनि गम्भीर खतरा निम्त्याएको छ । यो युद्ध केवल जमिन र आकाशमा सीमित छैन; यसको असर समुद्रको पिँधमा रहेका ती फाइबर अप्टिक केबलहरूमा पनि पर्न सक्ने देखिएको छ, जसले विश्वको ९५ प्रतिशतभन्दा बढी इन्टरनेट ट्राफिक बोक्ने गर्दछन् ।

विशेषगरी नेपाल-भारत लगायतका देशका लागि यो विषय अत्यन्तै चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ । हर्मुज स्ट्रेट र लाल सागर मुनि रहेका फाइबर अप्टिक केबलहरूले एसिया, युरोप र मध्यपूर्वलाई जोड्ने मुख्य डिजिटल धमनीको काम गर्छन् । यदि यो द्वन्द्वका कारण केबलहरूमा क्षति पुग्यो भने नेपाल-भारतको इन्टरनेट क्षमतामा ३० देखि ४० प्रतिशतसम्म गिरावट बेहोर्नुपर्ने संभावना देखिएको छ ।

अहिलेको समयमा डिजिटल अर्थतन्त्र, विशेष गरी क्लाउड सेवा, डिजिटल भुक्तानी र व्यावसायिक सञ्चालनहरू यी अन्तर्राष्ट्रिय नेटवर्कहरूमा निर्भर छन् । इन्टरनेटको गति सुस्त हुने, ल्याग बढ्ने र कतिपय अवस्थामा पूर्ण रूपमा सेवा अवरुद्ध हुन सक्ने सम्भावना छ । क्लाउड र एआई प्रविधि उदाउँदै गरेको अहिलेको समयमा गल्फ क्षेत्रमा रहेका डेटा सेन्टरहरूमा आउने अवरोधले यस क्षेत्रको डिजिटल भविष्यलाई नै प्रभावित तुल्याउन सक्छ ।

नेपालको आईटी सेवा उद्योग अन्तर्राष्ट्रिय केबल मार्गहरूमा गहिरो रूपमा निर्भर छ । इन्टरनेट क्षमतामा ४० प्रतिशतको कमी आउँदा भारतले मात्रै दैनिक ३ देखि ७ अर्ब डलरसम्मको सम्झौतागत जरिबाना र साख गुमाउनुपर्ने हुन सक्छ । उच्च फ्रिक्वेन्सी ट्रेडिङ र भुक्तानी पूर्वाधारहरूमा पर्ने दबाबले वित्तीय बजारलाई समेत ठप्प पार्न सक्छ ।

रेस्ट अफ वर्ल्डको विश्लेषण अनुसार केबलहरू काटिनुको मुख्य कारण प्रत्यक्ष सैन्य आक्रमण मात्र नभई युद्धको समयमा उत्पन्न हुने अराजकता पनि हुन सक्छ । जब व्यापारिक जहाजहरूले मिसाइल वा ड्रोनबाट बच्न अचानक दिशा परिवर्तन गर्छन्, तिनीहरूका भारी एङ्करहरूले समुद्रको पिँधमा रहेका संवेदनशील फाइबर अप्टिक केबलहरू काट्न सक्छन् । द्वन्द्वको समयमा केबल असफल हुनुको मुख्य कारण यस्तै कोल्याटरल ड्यामेज हुने गरेको इतिहासले समेत देखाइसकेको छ ।

इरानले यूएई र बहराइनमा रहेका अमेजन वेब सर्भिसेजका डेटा सेन्टरहरूमा ड्रोन हमला गरिसकेको छ । यी केन्द्रहरू केवल एप चलाउन मात्र नभई अमेरिकी सैन्य सञ्चार र अर्थतन्त्रको मेरुदण्डका रूपमा प्रयोग भइरहेको इरानको तर्क ।

इन्टरनेट सेवामा पर्ने सबैभन्दा डरलाग्दो पक्ष भनेको क्षतिको मर्मतमा लाग्ने समय हो । गल्फ न्युजका अनुसार शान्तिको समयमा केबल मर्मत गर्न केही दिन लाग्नेमा युद्धको समयमा यो महिनाौँसम्म लम्बिन सक्छ । हर्मुज स्ट्रेटमा ढिलो चल्ने वा एकै ठाउँमा स्थिर रहने मर्मत जहाजहरू पठाउनु आत्मघाती हुनसक्ने भन्दै इरानले चेतावनी दिइसकेको छ । यसको अर्थ यदि कुनै कारणले केबलमा क्षति पुग्यो भने पनि युद्धको समयमा त्यसलाई मर्मत गर्न असम्भव जस्तै हुनेछ । यस्तो अवस्थामा इन्टरनेटको गतिमा आउने सुस्तता अल्पकालीन नभई दीर्घकालीन समस्या बन्न सक्छ ।

नेपालको इन्टरनेट मूलरूपमा भारतहुँदै विश्वसँग जोडिएको छ । यो युद्धले भारतलाई विश्वसँग जोड्ने कैयौँ नयाँ केबल परियोजनाहरूमा पनि ब्रेक लगाएको छ । सबमरिन नेटवर्कको रिपोर्ट अनुसार '२अफ्रिका पर्ल्स' परियोजनाले भारतलाई ओमान, यूएई र साउदी अरब हुँदै युरोपसँग जोड्ने लक्ष्य राखेको थियो । त्यसको काम हाल रोकिएको छ । फ्रान्सेली कम्पनी अल्काटेल सबमरिन नेटवर्क (ASN) ले युद्धका कारण काम जारी राख्न नसक्ने भन्दै 'फोर्स मज्योर' (Force Majeure) सूचना जारी गरेको छ । यस्तै असर SEA-ME-WE 6 जस्ता अन्य महत्त्वपूर्ण परियोजनाहरूमा पनि परेको छ ।

अहिलेको समयमा अत्यावश्यक बनिसकेको इन्टरनेट सेवाका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय कनेक्टिभिटी अझै पनि जोखिमपूर्ण समुद्री मार्गहरूमा निर्भर छ । विश्व अर्थतन्त्रमा अहिले ताररहित सञ्चार र क्लाउड कम्प्युटिङको कुरा गरे पनि यसको वास्तविक आधार समुद्र मुनि रहेका तिनै कमजोर फाइबर अप्टिक केबलहरू हुन्, जो अहिले युद्धको चपेटामा परेका छन् ।

सामाजिक सञ्जालहरूमा इरानले लाल सागर (Red Sea) मुनि रहेका इन्टरनेट केबलहरूलाई निशाना बनाउने धम्की दिएको दाबी गरिएका अपुष्ट रिपोर्टहरू सार्वजनिक भएका छन् । केही टिप्पणीकारहरूले यदि खाडी मुलुकहरूले अमेरिकी सेनालाई आफ्नो भूमि प्रयोग गर्न दिइरहेमा इरानले ती केबलहरू काटिदिने चेतावनी दिएको उल्लेख गरेका छन् । यद्यपि, इरानी अधिकारीहरू वा ठुला गुप्तचर निकायहरूले आधिकारिक रूपमा यस्तो धम्कीको पुष्टि नगरेको र यो हालसम्म अनुमानमा मात्र सीमित छ ।

फर्स्टपोस्टले लेबनानी–अस्ट्रेलियन उद्यमी मारियो नाफालको सामाजिक सञ्जाल पोस्टलाई उद्धृत गर्दै इरानले खाडी देशहरूमा अमेरिकी सैन्य उपस्थितिको विरोधमा इन्टरनेट केबल काट्ने धम्की दिएको उल्लेख गरेको छ । तर यस्तो चेतावनीको कुनै आधिकारिक पुष्टि भएको छैन । विज्ञहरूले केबल आफैँमा इरानको तत्कालिन लक्ष्य नहुन सक्ने विश्लेषण गरेका छन् । किनभने केबल काट्दा इरानको आफ्नै इन्टरनेट कनेक्टिभिटी पनि काटिने जोखिम रहन्छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८२ १३:२५