मान्छेलाई चकित पार्ने ७ कुकुरको एकता भन्दै भाइरल भएको भिडिओको वास्तविकता के हो ?*
चैत ११, २०८२ २२:१६
काठमाडौँ । केही दिनअघि चीनको सडकमा सात ओटा कुकुरहरू निकै अनुशासित ढंगले हिँडिरहेको भिडिओले विश्वभरका सामाजिक सञ्जाल प्रयोगकर्ताको मन जितेको थियो । 'साउथ चाइना मर्निङ पोस्ट' लगायतका सञ्चारमाध्यमलाई आधार मान्दै टेकपानाले पनि ती कुकुरहरू मासु व्यापारीको चंगुलबाट उम्किएर १७ किलोमिटरको यात्रा गरी घर फर्केको समाचार प्रकाशित गरेको थियो ।
तर, हालै सीएनएन र चीनका सरकारी सञ्चारमाध्यमहरूले गरेको खोजमूलक रिपोर्टिङले सो भिडिओको पछाडि बुनिएको साहसिक कथा वास्तविकताभन्दा निकै टाढा र भ्रामक रहेको खुलासा गरेको छ ।
के थियो भाइरल कथा र के हो वास्तविकता ?
भाइरल भिडिओमा एउटा कोर्गी कुकुरले नेतृत्व गरेको र अन्य कुकुरले बीचमा एउटा घाइते जर्मन सेफर्डलाई सुरक्षा दिएर हिँडेको दाबी गरिएको थियो । इन्टरनेटमा यसलाई 'पशु एकता' र 'साहस' को उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरियो ।
तर, चीनको सरकारी अखबार 'सिटी इभिनिङ न्युज' ले ती कुकुरका मालिकहरूलाई फेला पारेपछि वास्तविकता अर्कै खुलेको छ ।
१. भाग्नुको कारण मासु व्यापार होइन: ती कुकुरहरू कुनै मासु पसल वा गिरोहबाट भागेका थिएनन् । तिनीहरू जिलिन प्रान्तको एकै गाउँका घरपालुवा कुकुरहरू थिए, जो अक्सर गाउँ वरपर यसरी नै घुम्ने गर्दथे ।
२. कुकुर घाइते थिएन: भिडिओमा 'घाइते' भनिएको जर्मन सेफर्ड वास्तवमा घाइते थिएन । ती कुकुरका मालिकका अनुसार उक्त कुकुर प्रजनन चक्र (हिट साइकल) मा थियो । सोही कारणले गाउँका अन्य कुकुरहरू उसलाई पछ्याउँदै राजमार्गसम्म पुगेका थिए ।
३. नेतृत्व र सुरक्षाको भ्रम: अगाडि हिँडेको कोर्गी र वरिपरि घेरा हालेर हिँडेका कुकुरहरूले सुरक्षा दिएको नभई स्वाभाविक रूपमा एकै साथ हिँडिरहेका थिए । सामाजिक सञ्जालमा मानिसहरूले यसलाई मानवीय भावनासँग जोडेर 'हिरोइज्म' को रङ भरिदिएका थिए ।
एआई र भ्रामक सूचनाको जोखिम
सीएनएनका अनुसार यो घटनाले भाइरल हुने नाममा कसरी वास्तविकतालाई तोडमोड गरिन्छ भन्ने उदाहरण पेस गरेको छ । भिडिओ वास्तविक भए तापनि त्यसमा जोडिएको कथा मानिसहरूले आफ्नो कल्पना र क्लिक पाउने आशमा बनाएका थिए ।
अझ रोचक कुरा त के छ भने यो कथा भाइरल भएपछि एआई प्रयोग गरेर ती कुकुरहरू घर फर्केको, मालिकसँग भेटेको र फिल्मका पोस्टरहरू जस्ता नक्कली दृश्यहरू समेत बनाएर सामाजिक सञ्जालमा फैलाइएको थियो । यसले इन्टरनेटको दुनियाँमा कुन कुरा साँचो र कुन कुरा एआई निर्मित भ्रम हो भनेर छुट्याउन कठिन हुँदै गएको देखाउँछ ।
डिजिटल मिडिया विज्ञहरूका अनुसार यस्ता मन छुने कथाहरू मानिसहरूले छिटो विश्वास गर्ने र सेयर गर्ने हुनाले गलत सूचना फैलाउनेहरूका लागि यो सजिलो माध्यम बनेको छ । चीनको सन्दर्भमा 'कुकुरको मासु' सम्बन्धी नकारात्मक भाष्यलाई प्रयोग गरेर यो कथा झन् बढी नाटकीय बनाइएको सीएनएनले लेखेको छ ।
सुरुमा साउथ चाइना मर्निङ पोस्ट लगायतका चिनियाँ सञ्चारमाध्यमले पनि यसलाई भावनात्मक कोणबाट प्रस्तुत गरेका थिए । तर, विस्तृत अनुसन्धानपछि ती सात कुकुरहरू केवल आफ्नै गाउँका छिमेकीहरू र रमाइलोका लागि सडकमा निस्किएका घरपालुवा कुकुर मात्र भएको पुष्टि भएको सीएनएनले जनाएको छ ।
*यसअघि टेकपानाले साउथ चाइना मर्निङ पोस्टको समाचारलाई आधार बनाएर सामग्री प्रकाशित गरेकोमा सीएनएन र चिनियाँ सरकारी स्वामित्वको 'सिटी इभिनिङ न्युज' को तथ्यपरक रिपोर्टिङपछि पाठकको जानकारीका लागि यो सामग्री परिमार्जन गरिएको छ । स.
पछिल्लो अध्यावधिक: चैत १२, २०८२ २३:३८
