काठमाडौँ । आजको डिजिटल युगमा मोबाइल फोन मार्फत सञ्चार गर्नु हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ । हामीसँग सञ्चारका लागि परम्परागत सेलुलर मोबाइल कलदेखि इन्टरनेटमा आधारित ओभर-द-टप (ओटीटी) एपहरूको प्रयोगसम्मका धेरै विकल्प उपलब्ध छन् ।
डेटा तथा इन्टरनेट सेवाको सहज उपलब्धताले गर्दा सेलुलर मोबाइल कलको प्रयोग घट्दै गएको छ । तर जब गुणस्तरको कुरा आउँदा, कुन विकल्प उत्तम हुन्छ त ? यस लेखमा हामी गुणस्तरको दृष्टिकोणबाट सेलुलर कल र ओटीटी एपहरूबीचको भिन्नता र फाइदाहरूको केलाउने छौँ ।
पहिलो कुरा सेलुलर कलहरूले कसरी काम गर्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ । सेलुलर मोबाइल कलहरूले रेडियो तरङ्गहरू प्रयोग गर्छन्, जुन नजिकैको बीटीएस टावरहरू मार्फत प्रसारित हुन्छन् र सार्वजनिक टेलिफोन नेटवर्कमा जोडिएका हुन्छन् । यो प्रविधिले लामो समयदेखि भरपर्दो आवाज सञ्चार प्रदान गर्दै आएको छ, विशेष गरी आपत्कालीन अवस्थाहरूमा, जहाँ इन्टरनेट पहुँच उपलब्ध नहुन सक्छ ।
त्यसो त आपत्कालीन कलहरू सेलुलर नेटवर्कमा नि:शुल्क रूपमा उपलब्ध हुन्छन् । उदाहरणको लागि प्रहरी, एम्बुलेन्स, दमकल जस्ता सेवाहरूका उपलब्ध गराइएका टोल फ्रि नम्बरहरूमा फोनमा ब्यालेन्स नभए पनि कल गर्न सकिन्छ ।
अर्कोतर्फ भाइबर, मेसेन्जर, ह्वाट्सएप लगायतका ओटीटी एपहरूले इन्टरनेट प्रोटोकल (आईपी) मा आधारित भ्वाइस (VoIP) प्रविधि प्रयोग गर्दछन् । यस्ता एपले प्रयोगकर्ताहरूलाई इन्टरनेटको माध्यमबाट आवाज र भिडिओ कल गर्ने, मेसेजहरू आदानप्रदान गर्ने सुविधा दिन्छन् । वाई-फाई वा मोबाइल डेटा मार्फत् इन्टरनेटमा पहुँच भएका जो कोहीले यी सेवाहरू प्रयोग गर्न सक्छन् ।
अब गुणस्तरको कुरा गरौँ । नोकिया सेलुसन एन्ड नेटवर्क (एनएसएन) स्मार्ट ल्याब्सको एक अध्ययन अनुसार, सुरुवाती परीक्षणहरूमा भोइस ओभर एलटीई (VoLTE) र ओटीटी भीओआईपी एपहरूले समान मिन ओपिनियन स्कोर (mean opinion score-MOS) प्राप्त गरेका थिए । जसले कम्प्रेसन (सङ्कुचन) र प्रसारण पछि प्राप्त भएको मिडियाको अनुभव गरिएको गुणस्तरलाई सङ्ख्यात्मक रूपमा दर्साउँछ ।
भीओएलटीई कलहरू टेलिकम सेवा प्रदायकहरूको फोरजी आईएमएस नेटवर्कबाट सोझै गर्न सकिन्छ । जसले ओटीटी भीओआईपीको तुलनामा mouth-to-ear delay (बोलेको कुरा सुन्नमा हुने ढिलाई) ९४ प्रतिशतसम्म कम देखाएको थियो । यसको मतलब भीओएलटीई कलहरूमा आवाज लगभग तुरुन्तै पुग्छ ।
यद्यपि, ओटीटी एपको आवाजको गुणस्तर इन्टरनेट कनेक्सनको स्थिरता र गतिमा निर्भर हुन्छ । कमजोर वा अस्थिर इन्टरनेट कनेक्सनले आवाजमा अवरोध, ढिलाइ वा गुणस्तरमा कमी ल्याउन सक्छ । जबकि बलियो वाई-फाई जडान भएको क्षेत्रमा ओटीटी कलहरूले उत्कृष्ट आवाज गुणस्तर प्रदान गर्न सक्छन् । कहिलेकाहीँ सेलुलर कलहरू भन्दा पनि यस्तो कलको गुणस्तर राम्रो हुन सक्छ, विशेष गरी कमजोर सेलुलर रिसेप्सन भएको ठाउँमा ।
सेलुलर कलहरूको गुणस्तर फोनको टावरसम्मको दुरी र नेटवर्क कञ्जेसन (नेटवर्कमा भएको चाप) मा निर्भर गर्दछ । अत्यधिक प्रयोगको समयमा सेलुलर नेटवर्कहरू जाम हुन सक्छन्, जसले कलको गुणस्तर घटाउन सक्छ र कल ड्रप (काटिने) सम्भावना बढाउन सक्छ । भीओएलटीई प्रविधिले कलहरूलाई प्राथमिकता दिएर यस किसिमको समस्यालाई केही हदसम्म कम गर्न मद्दत गर्दछ।
ओटीटी एपका केही कमजोरीहरू पनि छन् । कल गर्नको लागि दुवै व्यक्ति अनलाइन हुनुपर्छ र एउटै एप प्रयोग गरिरहेको हुनुपर्छ । इन्टरनेट नभएको अवस्थामा ओटीटी एप मार्फत आपत्कालीन कल गर्न सकिँदैन । साथै, यी एप प्रयोग गर्न स्मार्टफोन वा ल्यापटप जस्ता उपकरणहरू आवश्यक पर्दछन् ।
गुणस्तरको लागि कुन विकल्प उत्तम छ भन्ने कुरा धेरै कारकहरूमा निर्भर हुन्छ । यदि भरपर्दो र तत्काल सञ्चार आवश्यक छ भने सेलुलर मोबाइल कल एक सुरक्षित विकल्प हो । भीओएलटीई जस्ता प्रविधिहरूले सेलुलर कलहरूको आवाज गुणस्तर र गतिलाई अझ सुधार गरेका छन् । तर यदि तपाईँसँग स्थिर र उच्च गतिको इन्टरनेट कनेक्सन छ भने, ओटीटी एपले राम्रो आवाज गुणस्तर प्रदान गर्न सक्छन् र अन्तर्राष्ट्रिय कलहरूमा हुने महँगो खर्च जोगाउन मद्दत गर्न सक्छन् । यस हिसाबले प्रयोगकर्ताले आफ्नो स्थान, इन्टरनेट पहुँच, र सञ्चारको आवश्यकता अनुसार उत्तम विकल्प छनौट गर्नुपर्ने हुन्छ ।