काठमाडौँ । नेपाल टेलिकमको मोबाइल नेटवर्क र इन्टरनेट सेवामा शनिबार प्राविधिक समस्या देखिएको छ । सुरुमा कम्पनीको एफटीटीएच सेवामा मात्र समस्या देखिएको भए पनि केही समयमै टेलिकमको पूरै सिस्टममा समस्या आउँदा देशभरका ग्राहक प्रभावित भएका हुन् ।
सेवा अवरुद्ध भएपछि टेलिकमका ग्राहकले मोबाइलमा सिग्नल नदेखिने, फोन नलाग्ने र इन्टरनेट नचल्ने गुनासो गरेका छन् । कतिपय प्रयोगकर्ताले पटक-पटक प्रयास गरेपछि मात्र फोन लाग्ने गरेको बताएका छन् भने धेरैले सामाजिक सञ्जालमार्फत सेवा ठप्प भएको भन्दै स्क्रिनसटसहित असन्तुष्टि पोखेका छन् ।
टेलिकमको सेवामा आएको अवरोधका बारेमा प्रवक्ता रविन्द्र मानन्धरले प्राविधिक कारणले समस्या आएको पुष्टि गरेका छन् । टेकपानासँगको कुराकानीमा प्रवक्ता मानन्धरले भने, “कोर राउटर र एक्सेस राउटरमा पावरको समस्या देखिएका कारण सेवा अवरुद्ध हुन पुगेको हो ।”
उनका अनुसार हाल अवरुद्ध सेवा लगभग सुचारु भइसकेको छ । “अहिले सेवा लगभग रिकभर भइसक्यो । तर पनि कतै केही समस्या बाँकी छ कि भनेर प्राविधिक टोलीले लगहरू चेक गर्ने काम गरिरहेको छ,” मानन्धरले भने ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ १७:१३
