close

डार्क वेब निगरानी तथा सम्भावित साइबर खतरा पहिचान गर्न जेमनाई एआई एजेन्ट परिचालन गर्दै गुगल

टेकपाना टेकपाना

चैत १६, २०८२ १०:४

डार्क वेब निगरानी तथा सम्भावित साइबर खतरा पहिचान गर्न जेमनाई एआई एजेन्ट परिचालन गर्दै गुगल

काठमाडौँ । गुगलले आफ्नो ‘गुगल थ्रेट इन्टेलिजेन्स’ प्रणालीमा जेमनाई एआई एजेन्टलाई आधिकारिक रूपमा परिचालन गरेको छ । डार्क वेब फोरममा हुने करोडौँ गतिविधिलाई स्वचालित रूपमा निगरानी गर्न र सम्भावित साइबर खतराको पहिचान गर्न गुगलले यो कदम चालेको हो ।

हाल पब्लिक प्रिभ्युमा रहेको यो नयाँ प्रविधिले दैनिक ८० देखि एक करोड डार्क वेब पोस्टको विश्लेषण गर्न सक्ने गुगलको दाबी छ । यसले डेटा लिक्स र ‘इनिसियल एक्सेस ब्रोकर’ जस्ता गम्भीर सुरक्षा जोखिमलाई सुरुवाती चरणमै पत्ता लगाउने बताइएको छ ।

यसअघि डार्क वेब निगरानीका लागि प्रयोग गरिने ‘स्टाटिक किवर्ड’ र ‘रेजेक्स’ विधिमा ८० देखि ९० प्रतिशतसम्म ‘फल्स-पोजेटिभ’ (गलत चेतावनी) आउने समस्या थियो । यसले सुरक्षा अनुसन्धानकर्तालाई वास्तविक खतरा पहिचान गर्न बाधा पुर्‍याउँदै आएको थियो ।

गुगल थ्रेट इन्टेलिजेन्सका प्रडक्ट म्यानेजर ब्रान्डन उडका अनुसार जेमनाई एआईले ओपन सोर्स इन्टेलिजेन्स (OSINT) र प्रयोगकर्ताले उपलब्ध गराएको डेटाका आधारमा संस्थाको ब्रान्ड, महत्त्वपूर्ण व्यक्ति र प्रविधि संरचनाको विस्तृत प्रोफाइल तयार गर्छ । यसले गर्दा कुनै पनि सन्दिग्ध गतिविधिको सान्दर्भिकता ९८ प्रतिशत सटीकताका साथ पहिचान हुने दाबी गुगलको छ ।

यो सिस्टमको मुख्य विशेषता ‘कन्टेक्स्चुअल म्यापिङ’ हो । उदाहरणका लागि यदि डार्क वेबमा कुनै आक्रमणकारीले कम्पनीको नाम उल्लेख नगरी “५० अर्ब डलर सम्पत्ति भएको उत्तर अमेरिकी कम्पनीको एक्सेस बिक्रीमा छ” भनी लेखेमा, जेमनाईले उक्त वित्तीय र भौगोलिक विवरणलाई आफ्नो प्रोफाइलसँग भिडाई सम्बन्धित कम्पनीलाई तत्काल सचेत गराउँछ । पुराना प्रविधिले कम्पनीको नाम स्पष्ट नभएसम्म यस्ता खतरा पहिचान गर्न सक्दैनथे ।

कम्पनीले डार्क वेब निगरानीका साथै गुगल सेक्युरिटी अपरेसन भित्र पनि स्वचालित एआई एजेन्ट थपेको छ । यी एजेन्टले सुरक्षा सम्बन्धी प्रमाण सङ्कलन गर्ने र चेतावनीको विश्लेषण गर्ने काम स्वचालित रूपमा गर्नेछन् । यसले गर्दा सुरक्षा विश्लेषकको कार्यभार कम गर्नेछ ।

गुगलको यो नयाँ प्रविधिबारे लास्टपासका थ्रेट इन्टेलिजेन्स निर्देशक माइकल कोसाकले भनेका छन्, “मैले पहिले प्रयोग गरेका डार्क वेब टुलमा औसत ९० प्रतिशतभन्दा बढी गलत अलर्ट आउँथे । तर यो नयाँ प्रविधिले अनावश्यक डेटा हटाएर मानव विश्लेषकले देख्न नसक्ने कुरा समयमै जोड्छ । यो भनेको आगो लागिसकेपछि निभाउनु र सलाई कोर्नुअघि नै आगो लाग्न नदिनु बीचको फरक जस्तै हो ।”

गुगल थ्रेट इन्टेलिजेन्स ग्रुपले हाल विश्वभरका ६२८ वटा सक्रिय साइबर आक्रमणकारी समूहलाई पछ्याइरहेको छ । नयाँ एआई मोडेलले यी समूहका गतिविधिलाई पनि नजिकबाट विश्लेषण गर्नेछ ।

राज्य-समर्थित साइबर आक्रमणकारीले पनि जेमनाई जस्ता एआई मोडेललाई आक्रमणका लागि प्रयोग गरिरहेको रिपोर्ट सार्वजनिक भइरहेका बेला गुगलले रक्षात्मक एआई (डिफेन्सिभ एआई) परिचालन गरेको हो । एआई प्रयोग गर्दा ग्राहकको डेटाको सुरक्षाका लागि गुगलले विशेष सतर्कता अपनाइएको जनाएको छ । 

यो प्रणालीले केवल सार्वजनिक रूपमा उपलब्ध जानकारी र सुरक्षा टोलीले अनुमति दिएको तथ्याङ्क मात्र प्रयोग गर्ने र सबै जानकारीको स्रोत खुलाउने गरी पारदर्शी बनाइएको गुगलको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८२ १०:४