काठमाडौँ । नेपाल प्रहरीले सूचना प्रविधि, सञ्चार र इन्जिनियरिङ क्षेत्रमा कुल ४५५ जना प्राविधिक पदका लागि नयाँ भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला तथा विभिन्न समावेशी कोटा समेटेर दरखास्त आह्वान गरेको हो । विज्ञापनमा प्राविधिक क्षेत्रमा अध्ययन गरेका योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
सूचना तथा प्रविधि निर्देशनालयतर्फ कुल ३३ जनाको माग गरिएको छ । यसमा प्राविधिक प्रहरी निरीक्षक (सूचना प्रविधि/कम्प्युटर) मा चार, नायव निरीक्षकमा सात, सहायक निरीक्षकमा सात र जवानतर्फ १५ जनाको माग छ ।
निरीक्षक पदका लागि कम्प्युटर, सफ्टवेयर वा आईटी इन्जिनियरिङमा स्नातक गरी काउन्सिलमा दर्ता भएको वा बीएससी सीएसआईटी, बीआईटी, बीसीए वा सो सरह उत्तीर्ण गरी ६ महिनाको प्रमाणित तालिम लिएको हुनुपर्नेछ ।
त्यस्तै, नायव निरीक्षकका लागि सम्बन्धित विषयमा इन्जिनियरिङ डिप्लोमा, सहायक निरीक्षकका लागि प्रमाणपत्र तह उत्तीर्ण गरी तीन महिनाको तालिम र जवानका लागि एसएलसी/एसईई उत्तीर्ण गरी एक महिनाको सूचना प्रविधि तालिम लिएको हुनुपर्ने व्यवस्था छ ।
सञ्चार निर्देशनालयतर्फ सबैभन्दा धेरै कुल ३४६ जनाका लागि दरखास्त आह्वान गरिएको छ । जसमा निरीक्षक (सञ्चार) मा ६, नायव निरीक्षकमा पाँच, सहायक निरीक्षकमा ५५ र जवानतर्फ २८० जनाको माग छ ।
सञ्चारको निरीक्षक पदका लागि इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन वा टेलिकम्युनिकेसन लगायत सम्बन्धित विषयमा स्नातक गरी इन्जिनियरिङ परिषद्मा दर्ता भएको हुनुपर्नेछ । नायव निरीक्षकका लागि सम्बन्धित विषयमा डिप्लोमा, सहायक निरीक्षकका लागि एसएलसी/एसईई उत्तीर्ण गरी सम्बन्धित विषयमा १८ महिनाको कोर्ष पूरा गरेको वा प्रमाणपत्र तह उत्तीर्ण गरी तीन महिनाको तालिम प्राप्त गरेको र जवानका लागि एसएलसी/एसईई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
भौतिक पूर्वाधार निर्देशनालय अन्तर्गत इन्जिनियरिङतर्फ ३३ जना र सवारी महाशाखा अन्तर्गत ४३ जनाको माग छ । पूर्वाधारतर्फ सिभिल इन्जिनियर (निरीक्षक), इलेक्ट्रिकल इन्जिनियर (निरीक्षक) र बिल्डिङ एन्ड आर्किटेक्ट (निरीक्षक) मा एक/एक जना माग गरिएको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक गरी इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । यसैगरी आर्किटेक्ट (नायव निरीक्षक) मा एक र सिभिल (नायव निरीक्षक) मा दुई जना माग गरिएको छ जसका लागि सम्बन्धित विषयमा तीन वर्षे डिप्लोमा उत्तीर्ण हुनुपर्छ । पूर्वाधारतर्फकै जवानका लागि २७ जनाको माग छ जसले कम्तीमा ८ कक्षा उत्तीर्ण गरी सिकर्मी, डकर्मी वा पेन्टरमा सीप प्रमाणपत्र पाएको हुनुपर्छ । अर्कोतर्फ, सवारी महाशाखा अन्तर्गत अटोमोबाईल इन्जिनियर (निरीक्षक) मा एक, सहायक निरीक्षक (अटोमोबाईल) मा तीन र जवानतर्फ ३९ जनाको दरखास्त खुलाइएको छ ।
उम्मेदवारको उमेर हदको हकमा प्राविधिक प्रहरी जवानका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको, सहायक निरीक्षकका लागि १८ देखि २८ वर्षसम्म, नायव निरीक्षकका लागि १८ देखि ३० वर्षसम्म र निरीक्षकका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको हुनुपर्नेछ । थप जानकारी तल उपलब्ध गराइएको पीडीएफमा हेर्न सक्नुहुन्छ । आवेदन दिने तरिका सिकाइएको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: चैत २०, २०८२ १३:२
