close

ओटीटीमा आयो उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’

टेकपाना टेकपाना

चैत २०, २०८२ १५:५९

ओटीटीमा आयो उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’

काठमाडौँ । विवेकशील अभियानका संयोजक एव‌ं आईटी उद्यमी स्व. उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ डिशहोमको ओटीटी प्लेटफर्म डीगो (Dgo) मार्फत सार्वजनिक भएको छ । डिशहोम डिजिटल प्रालिले एक विज्ञप्ति जारी गर्दै उक्त वृत्तचित्र आफ्नो एपमार्फत आधिकारिक रूपमा प्रदर्शनमा आएको जानकारी दिएको हो ।

वृत्तचित्रमा थापाको बाल्यकाल, अमेरिकाको शिक्षा र नेपाल फर्किएपछि उद्यमशीलतामार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई केलाइएको छ । दुर्लभ फुटेजका साथै साथी, सहयात्री लगायतका अनुभव समेटिएको यस वृत्तचित्रबारे विज्ञप्तिमा भनिएको छ, “यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत हो ।”

यस वृत्तचित्र प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश ‘उज्वल थापा फाउन्डेसन’ लाई प्रदान गरिने घोषणा गरिएको छ । यसबाट उज्वल थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानलाई संस्थागत रूपमा निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिइएको छ । उक्त फाउन्डेसनले विशेषगरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

डीगो एपमार्फत विश्वभरका दर्शकले यो वृत्तचित्र हेर्न सक्नेछन् । प्रदर्शनका लागि दर्शक रहेको स्थान अनुसार छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ । जसअनुसार नेपालमा रहेका दर्शकका लागि १९९ रुपैयाँ, अमेरिका र अस्ट्रेलियामा रहेका दर्शकका लागि ४.९९ अमेरिकी डलर र बाँकी विश्वका दर्शकका लागि २.९९ डलर शुल्क तोकिएको डिशहोम डिजिटलले जनाएको छ ।

एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८२ १६:३२