close

अबको ४५ दिनभित्र नागरिक एपबाटै पासपोर्ट र ड्राइभिङ लाइसेन्सको आवेदन दिन सकिने !

टेकपाना टेकपाना

चैत २३, २०८२ १९:१३

अबको ४५ दिनभित्र नागरिक एपबाटै पासपोर्ट र ड्राइभिङ लाइसेन्सको आवेदन दिन सकिने !

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी ४५ दिनभित्र नागरिक एपमार्फत राहदानी (पासपोर्ट) र सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका प्रमुख सरकारी सेवाका लागि एकीकृत आवेदन प्रणाली सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयले स्वीकृत गरेको ‘प्रमुख सुधारात्मक कार्यक्रम’ अन्तर्गत सरकारी सेवाहरूलाई प्रविधिमैत्री, छरितो र झन्झटमुक्त बनाउन यस्तो योजना अघि सारिएको हो ।

मन्त्रालयका अनुसार नागरिक एपमा पुलिस रिपोर्ट, राहदानी र सवारी चालक अनुमति पत्र जस्ता सेवाहरूलाई अन्तरआबद्ध गरी एउटै पोर्टलबाट आवेदन दिन सकिने व्यवस्था मिलाइनेछ । यी मध्ये नागरिक एपमार्फत अनलाइनबाटै प्रहरी प्रतिवेदन प्राप्त गर्ने प्रणाली यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

अबको ४५ दिनभित्र राहदानी र लाइसेन्सका लागि पनि आवेदन दिन मिल्ने गरी प्रणालीलाई पूर्ण रूपमा एकीकृत गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को गत १३ चैतको निर्णय बमोजिम ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ कार्यान्वयन गर्ने उद्देश्यले मन्त्रालयले १० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो । यस कार्ययोजना अन्तर्गत नागरिकले एउटै एपबाट धेरै सरकारी सेवाका लागि आवेदन दिन सक्ने र सरकारी कार्यालय धाउनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।

नागरिक एपलाई सरकारी सेवाको मुख्य केन्द्र बनाउने सरकारको योजना अनुसार यसअघि नै विभिन्न सेवा थप हुँदै आएका छन् । एकीकृत आवेदन प्रणालीको सुरुवात भएपछि सेवाग्राहीले आफ्नै मोबाइलबाट सुरक्षित र सहज रूपमा सरकारी कागजातका लागि प्रक्रिया अघि बढाउन सक्ने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २३, २०८२ १९:१३