close

गुगल फोटोजमा आयो सिंगल ट्यापमै फोटोको लाइट र कलर मिलाइदिने एआई इन्ह्यान्स फिचर

टेकपाना टेकपाना

चैत २५, २०८२ ९:४

गुगल फोटोजमा आयो सिंगल ट्यापमै फोटोको लाइट र कलर मिलाइदिने एआई इन्ह्यान्स फिचर

काठमाडौँ । गुगलले एन्ड्रोइडका सबै प्रयोगकर्ताहरूका लागि गुगल फोटोज (Google Photos) मा AI Enhance बटन र भिडिओ प्लेब्याक स्पिड कन्ट्रोल गरी दुईवटा नयाँ फिचर थप गरेको छ । यी फिचर अहिले विश्वव्यापी रूपमा रोलआउट हुन सुरु भइसकेका छन् ।

गुगलले ट्वीटर/एक्स मार्फत आफ्नो नयाँ AI Enhance टुलको विषयमा जानकारी दिँदै यसको भिडिओ सार्वजनिक गरेको छ । यो बटन विश्वभरका सबै एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइँदैछ । जसको सहयोगमा प्रयोगकर्ताहरूले केवल एक ट्यापको भरमा आफ्ना फोटोहरूको प्रकाश (light) र रङ (color) सन्तुलन मिलाउन सक्नेछन् ।यसलाई 'म्याजिक फिक्स' (magic fix) को रूपमा वर्णन गरिएको छ । जसले प्रयोगकर्ताहरूलाई विस्तृत र लामो सम्पादन प्रक्रिया बिना नै लाइट र कन्ट्रास्ट मिलाउन मद्दत गर्छ ।

गुगलले उल्लेख गरेअनुसार यो एआई टुलको नतिजा प्रयोगकर्ताले प्रयोग गर्ने डिभाइसको क्षमता अनुसार फरक-फरक हुन सक्छ । त्यस्तै भिडिओका लागि गुगलले आफ्नो कम्युनिटी पेजमा नयाँ घोषणा गर्दै भिडिओ प्लेब्याक स्पिड नियन्त्रण गर्ने सुविधा रोलआउट भइरहेको जानकारी पनि दिएको छ । यो प्रयोगकर्ताहरूले लामो समयदेखि माग गर्दै आएको फिचर हो ।

प्रयोगकर्ताहरूले एपभित्र कुनै पनि भिडिओको 'थ्री-डट' मेनुमा गएर अन्य टुलहरूसँगै 'प्लेब्याक स्पिड'को विकल्प फेला पार्न सक्नेछन् । प्रयोगकर्ताहरूले भिडिओको गतिलाई ०.२५x देखि २x सम्म परिवर्तन गर्न सक्नेछन् । यो फिचर हाल सुरुवाति चरणमा रहेको छ र एआई इह्यान्स जत्तिकै विश्वव्यापी रूपमा विस्तार भइसकेको छैन । तर चाँडै सबै एन्ड्रोइड उपकरणहरूमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ ९:४