close

सुबिसुको आयोजनामा भोलिदेखि काठमाडौँमा चौथो ‘एपाक आइपीभी सिक्स काउन्सिल मिट’ हुँदै

टेकपाना टेकपाना

चैत २५, २०८२ २०:४८

सुबिसुको आयोजनामा भोलिदेखि काठमाडौँमा चौथो ‘एपाक आइपीभी सिक्स काउन्सिल मिट’ हुँदै

काठमाडौँ । सुबिसु लिमिटेडले चौथो संस्करणको ‘एपाक आईपीभी सिक्स काउन्सिल मिट’ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन २६-२७ चैतमा काठमाडौँको होटल र्‍याडिसनमा सञ्चालन हुनेछ ।

सम्मेलनमा फाइभजी, स्मार्ट सहरहरू, औद्योगिक स्वचालन जस्ता नवीनतम प्रविधिहरूका लागि आवश्यक पर्ने असीमित ठेगाना उपलब्ध गराउने आईपीभी सिक्स प्रविधिको भूमिकाबारे विशेषज्ञहरूबिच अनुभव साटासाट हुनेछ । साथै, नेटवर्कहरूमा बढ्दो साइबर सुरक्षाको चुनौती र त्यसको समाधानका उपायहरूबारे पनि यसले ध्यानाकर्षण गराउने आयोजकले जनाएको छ ।

यस वर्षको सम्मेलन विशेषगरी ‘इन्टरप्राइज नेटवर्क आर्किटेक्चर’ मा आईपीभी सिक्सको व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ । विश्वभरका संस्थाहरू क्लाउड–आधारित र सुरक्षित नेटवर्क वातावरणतर्फ अघि बढिरहेको सन्दर्भमा आईपीभी सिक्सको प्रयोगलाई रणनीतिक आवश्यकताका रूपमा प्रस्तुत गरिनेछ ।

दुई दिने कार्यक्रममा स्वदेशी तथा अन्तर्राष्ट्रिय कीनोट स्पीकरहरू एवं सूचना प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनको पहिलो दिन ‘Global Adaptation, Insights and Shaping Your ICT Ecosystem with IPv6’ भन्ने मुख्य थिममा आधारित रही छलफल हुनेछ ।

कार्यक्रमका बारेमा जानकारी दिँदै सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउदले भने, “यो सम्मेलनले संस्थाहरूलाई भविष्यका लागि सक्षम र सुरक्षित नेटवर्क पूर्वाधार निर्माण गर्न सही मार्गदर्शन गर्नेछ । यसले आगामी दिनमा नेपालले अवलम्बन गर्ने नयाँ नेटवर्क नीतिहरूमा समेत ठोस सहयोग पुर्‍याउनेछ ।”

सम्मेलनले सहभागीहरूलाई अन्तर्राष्ट्रिय प्राविधिक विशेषज्ञता हासिल गर्न र क्षमता अभिवृद्धि गर्न उत्कृष्ट अवसर प्रदान गर्ने सुबिसुले विश्वास लिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ २०:५३