close

साझा यातायातको एआई कन्ट्रोल रुम, अब पुल्चोकबाटै गाडी र चालकको गतिविधि थाहा हुने

टेकपाना टेकपाना

चैत २७, २०८२ ११:३०

साझा यातायातको एआई कन्ट्रोल रुम, अब पुल्चोकबाटै गाडी र चालकको गतिविधि थाहा हुने

काठमाडौँ । साझा यातायातले नयाँ वर्ष २०८३ देखि एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिमा आधारित आधुनिक कन्ट्रोल रुम सञ्चालनमा ल्याउने भएको छ । ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा स्थापना गरिएको यो कन्ट्रोल रुम अहिले परीक्षणको चरणमा छ ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार परीक्षण सम्पन्न भएपछि आगामी वैशाखदेखि यो पूर्ण रूपमा सञ्चालनमा आउनेछ । साझाका गाडीहरूमा जडान गरिएका सीसीटिभी क्यामेरा र जीपीएस प्रणालीलाई यो कन्ट्रोल रुमसँग जोडिएको छ । यसले गर्दा अब कार्यालयबाटै गाडीभित्र र बाहिर भइरहेका सम्पूर्ण गतिविधिहरू प्रत्यक्ष निगरानी गर्न सकिनेछ ।

कुन गाडी कहाँ गुडिरहेको छ, त्यसको गति कति छ र दुई ओटा गाडीबिच हुनुपर्ने निश्चित दूरी कायम गरिएको छ कि छैन भन्ने जानकारी पनि कन्ट्रोल रुमले दिनेछ । एउटै बस स्टपमा दुई गाडी रोकिने, धेरैबेरसम्म बस नछोड्ने वा कम्पनीको नियम विपरीतका कुनै पनि क्रियाकलाप भएमा कन्ट्रोल रुमबाटै चालकलाई तत्काल आवश्यक निर्देशन दिन सकिने व्यवस्था मिलाइएको छ ।

यदि चालकले तोकिएको भन्दा तीव्र गतिमा गाडी गुडाएमा, सवारी चलाउँदा धुमपान गरेमा, चालक निदाएमा वा कुनै असामान्य व्यवहार देखाएमा कन्ट्रोल रुममा तत्कालै नोटिफिकेसन पुग्ने अर्यालले बताए ।

यस्तो अवस्थामा रुममा खटिएका कर्मचारीले चालकलाई तत्काल सचेत गराउन सक्नेछन् । कन्ट्रोल रुम सञ्चालनमा आएपछि सार्वजनिक यात्रा थप सुरक्षित हुने, गाडीहरू तोकिएको समयमै चल्ने र बस स्टपमा पुग्ने विश्वास साझा यातायातले लिएको छ ।

यसबाट चालक र कर्मचारीहरू थप मर्यादित हुने, आम्दानीमा पारदर्शिता बढ्ने र अन्ततः संस्थाको आर्थिक अवस्थामा सुधार आउने सीईओ अर्यालले बताए ।

 

पछिल्लो अध्यावधिक: चैत २७, २०८२ ११:३०