close

नेपालमा डिजिटल पूर्वाधार विकास गर्न सुबिसु र एपाक आईपीभी सिक्स काउन्सिलबिच सम्झौता

टेकपाना टेकपाना

चैत २७, २०८२ १७:९

नेपालमा डिजिटल पूर्वाधार विकास गर्न सुबिसु र एपाक आईपीभी सिक्स काउन्सिलबिच सम्झौता

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया-प्रशान्त क्षेत्रमा आईपीभी सिक्सको प्रवर्द्धनका लागि कार्यरत संस्था एपाक आईपीभी सिक्स काउन्सिलबिच सहकार्य गर्ने सम्झौता भएको छ । काठमाडौँको होटल र्‍याडिसनमा आयोजित ‘चौथो एपाक आईपीभी सिक्स काउन्सिल मिट’ को पहिलो दिन बिहीबार दुई संस्थाबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा सुबिसुका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउद र एपाक आईपीभी सिक्स काउन्सिलका अध्यक्ष प्रो. इमेरिटस डा. सुरेश्वरन रामादासले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै सुबिसु लिमिटेड एपाक आईपीभी सिक्स काउन्सिलको संस्थागत सदस्यको रूपमा सहभागी भएको छ । यो सहकार्यले दुई संस्थाबिच प्राविधिक ज्ञान, विशेषज्ञ जनशक्ति, संयुक्त प्रकाशन र परस्पर प्रचार-प्रसारका लागि नयाँ ढोका खोलेको छ ।

सम्झौताको महत्त्वबारे बोल्दै सुबिसुका सीईओ साउदले भने, “नेपालमा यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्मेलन आयोजना गरी एपाक आईपीभी सिक्स काउन्सिलसँग औपचारिक साझेदारी गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो । यसले नेपाललाई एसिया-प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्रमा स्थापित गर्न सघाउनेछ ।”

यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल पुर्‍याउने र देशको इन्टरनेट पूर्वाधारलाई विश्वस्तरको मापदण्डमा पुर्‍याउने साउदको विश्वास छ । विशेषगरी इन्टरनेटको विस्तार, आईओटी र क्लाउड कम्प्युटिङका लागि अनिवार्य मानिएको आईपीभी सिक्सको सफल एकीकरणमा यसले प्राविधिक नेतृत्व प्रदान गर्ने उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८२ १८:११