close

इन्धन जोगाउन महानगरको जुक्ति: एउटै क्षेत्रबाट आउने कर्मचारीले समूह बनाएर आलोपालो सवारी प्रयोग गर्नुपर्ने

टेकपाना टेकपाना

चैत २९, २०८२ ९:५९

इन्धन जोगाउन महानगरको जुक्ति: एउटै क्षेत्रबाट आउने कर्मचारीले समूह बनाएर आलोपालो सवारी प्रयोग गर्नुपर्ने

काठमाडौँ । इन्धनको खपत कटौती गर्ने उद्देश्यका साथ काठमाडौँ महानगरपालिकाले आफ्ना अधिकारीहरूलाई उपलब्ध गराइएका सवारी साधनहरू आलोपालो चलाउने ‘कार पुलिङ’ प्रणाली कार्यान्वयनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट उत्पन्न वर्तमान परिस्थिति र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जानकारी दिइन् ।

डंगोलका अनुसार विश्वभर इन्धनको अभाव देखिन थालेको र पुरानै शैलीमा सवारी साधन सञ्चालन गर्दा भविष्यमा अत्यावश्यक सेवाका लागि समेत इन्धन नपुग्न सक्ने जोखिम छ । ‘यस्तो समस्या आउन नदिन इन्धनको प्रयोग घटाउनुको विकल्प छैन,’ उनले भनिन्, ‘सम्भावित इन्धन संकटलाई मध्यनजर गर्दै हामीले ‘कार पुलिङ’ कार्यक्रम सुरु गरेका हौँ ।’

महानगरपालिकाले यसअघि नै ४८औँ कार्यपालिका बैठकबाट इन्धनको कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ ।

‘कार पुलिङ’ कार्यक्रमअन्तर्गत कर्मचारीहरूको बसोबास क्षेत्रका आधारमा एउटै रुटबाट आउने-जाने अधिकारीहरूको समूह बनाइएको छ । यस समूहमा आबद्ध कर्मचारीहरूले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरी नजिकै बस्ने अन्य सहकर्मीहरूलाई पनि ल्याउने र पुर्‍याउने गर्नुपर्नेछ ।

 

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ ९:५९