close

प्रधानमन्त्री बालेनको विरोध गर्दा पत्रकार पक्राउ परे भन्दै भारतीय सञ्चार माध्यम ‘द हिन्दु’ ले फैलायो भ्रम

टेकपाना टेकपाना

चैत ३०, २०८२ १६:३३

प्रधानमन्त्री बालेनको विरोध गर्दा पत्रकार पक्राउ परे भन्दै भारतीय सञ्चार माध्यम ‘द हिन्दु’ ले फैलायो भ्रम

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आलोचना गर्दा पत्रकार पक्राउ परेको भन्दै भारतीय सञ्चारमाध्यम ‘द हिन्दु’ ले भ्रामक समाचार सम्प्रेषण गरेको पाइएको छ । प्रधानमन्त्रीको विरोध गर्दा पत्रकार पक्राउ परेको दाबीसहित सामग्री सम्प्रेषण गरिए पनि वास्तवमा पक्राउ परेका व्यक्ति सामाजिक सञ्जालमा सक्रिय कन्टेन्ट क्रिएटर रोशन पोखरेल हुन् ।

पोखरेललाई प्रधानमन्त्रीको आलोचना गरेको कारण नभई सामाजिक सञ्जालमार्फत अभद्र शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्णले पोखरेल कुनै पनि सञ्चार माध्यममा आबद्ध नरहेको पुष्टि गरेका छन् ।

“पक्राउ परेका व्यक्ति (रोशन पोखरेल) कुनै पनि मिडिया हाउससँग आबद्ध छैनन् । उनले मनोरञ्जनका लागि भिडिओ बनाउने गरेको पाइएको छ,” डीएसपी कर्णले भने, “हामीले बिहीबार उनलाई पक्राउ गरेका थियौँ, तर स्वास्थ्यमा समस्या देखिएपछि आइतबार परिवारको जिम्मा लगाएका छौँ ।”

प्रहरीका अनुसार पोखरेल पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित एक विद्यालयमा शिक्षण पेसामा आबद्ध थिए । तर पछिल्लो समय उनी विद्यालय छाडेर सामाजिक सञ्जालमा भिडिओ बनाउन सक्रिय थिए । उनका साथी एवं कन्टेन्ट क्रिएटर सुभम चापागाईंले पनि रोशन पत्रकार नभएको र उनी कन्टेन्ट क्रियसनमा सक्रिय रहेको बताएका छन् ।

प्रधानमन्त्री बालेन शाह र अन्य राजनीतिक व्यक्तित्वलाई गालीगलौज गरेको उजुरीपछि उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो । सामाजिक सञ्जालमा पक्राउको विषयलाई लिएर चर्को आलोचना भइरहँदा भारतीय सञ्चार माध्यमले उनलाई ‘पत्रकार’ को दर्जा दिएर समाचार प्रकाशित गरेपछि भ्रम थप फैलिएको हो ।

हाल पोखरेललाई हाजिरी जमानीमा छोडिएको छ । भारतीय अखबार ‘द हिन्दु’ ले फैलाएको सो भ्रामक समाचारको स्क्रिनशट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अन्य केही प्रयोगकर्ताले त्यसैको स्क्रिनशट शेयर गर्दै पत्रकार प्रकाउ परेको भन्दै भ्रामक सूचनालाई थप बल पुर्‍याइरहेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ १७:२७